नुवाकोट (घलेभन्ज्याङ) । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' आइतबार नुवाकोट आउनुहुने भएको छ ।
पञ्चकन्या र लिखु गाउँपालिकामा हुने कार्यक्रमका लागि संयोजक प्रचण्ड नुवाकोट आउनुहुने प्रतिनिधिसभाका निवर्तमान सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पञ्चकन्या-३, घलेगाउँमा निर्माण गरिएको 'घलेगाउँ सांस्कृतिक केन्द्र'को भवन एक समारोहबीच प्रचण्डले उद्घाटन गर्नुहुनेछ । उक्त कार्यक्रमका लागि प्रचण्ड बिहान ८ बजे घलेगाउँ आइपुग्ने समयतालिका रहेको छ ।
घलेगाउँ सांस्कृतिक केन्द्रको भवन उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएकोले सबैलाई उपस्थितिका लागि घलेगाउँ साँस्कृतिक केन्द्र परिवारले आग्रह गरेको छ । 'घलेगाउँ साँस्कृतिक केन्द्र नामक सामुदायिक भवनको समुद्घाटन सम्माननीय पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न हुन गइरहेकोले घलेगाउँ साँस्कृतिक केन्द्रसँग आबद्ध पदाधिकारी, सदस्यज्यूहरु, राजनीतिक दलका नेताहरु, बुद्धिजीवी, पत्रकारलगायत सम्पूर्ण पञ्चकन्या बासिन्दाहरूमा उपस्थितिको हार्दिक निमन्त्रणा गर्दछौँ ।'
'घलेगाउँ सांस्कृतिक केन्द्र'को भवन २०८१ फागुन २९ गते नुवाकोट १ बाट निर्वाचित निवर्तमान सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङले शिलान्यास गर्नुभएको थियो । उक्त भवनका लागि पूर्वसांसद तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रहनुभएको बेला ससर्त संघीय अनुदानअन्तर्गत ६३ लाख रुपैयाँ बजेट विनियोजन गर्नुभएको थियो । उक्त बजेटमार्फत ९ लाख रुपैयाँमा १ रोपनी जग्गा खरिद गरेर सामुदायिक भवन निर्माण गरिएको हो ।
पञ्चकन्याको कार्यक्रमपछि प्रचण्ड लिखु ५ मा निर्मिति सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको समुट्घाटन समारोहमा सहभागी हुनुहुनेछ । कार्यक्रम मध्याह्न १२ बजे तय गरिएको छ ।
कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी लिखु गाउँपालिका समिति नुवाकोट र सहिद स्मृति केन्द्र लिखु संस्था लिखु गाउँपालिका ५ नुवाकोटको आयोजना गर्ने छन् । कार्यक्रममा सहभागिताका लागि पार्टीका समर्थक, शुभचिन्तक, सहिद परिवार, सम्पूर्ण आमजनसमुदायहरुमा अनुरोध गरिएको छ ।
उक्त कार्यक्रममा पूर्वमन्त्री हितबहादुर तामाङलगायत नेता, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति रहेन जनाइएको छ ।