काठमाडौं । महिला सञ्चारकर्मीहरुको स्वामित्वमा सञ्चालित ग्लोबल मिडियाकी सम्पादक अञ्जु डिम्दोङ (तामाङ)लाई 'दीपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार–२०८२'प्रदान गरिने भएको छ ।
तामाङ पत्रकार संघले २२औं स्थापना दिवसका अवसरमा पत्रकार डिम्दोङलाई 'दीपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार–२०८२'बाट सम्मान गर्न लागेको हो । डिम्दोङलाई १० हजार रुपैयाँ, प्रमाणपत्र प्रदान गरिने छ ।
सिन्धुलीकी पत्रकार डिम्दोङ २०६७ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँले रेडियो मैत्री एफएम, रातोपाटी अनलाइनलगायत विभिन्न सञ्चारमाध्यममा अनुभव बटुलिसक्नु भएको छ । उहाँ हाल ग्लोबल मल्टिमिडिया प्रालिद्वारा सञ्चालित ग्लोबल मिडिया डटकमको प्रबन्ध निर्देशक तथा सम्पादकको भूमिका रहनु भएको छ ।
स्थापना दिवसका अवसरमा डिम्दोङसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत ३ जना पत्रकारलाई पुरस्कृत गरिने बिहीबारको संघीय सचिवालय समितिको बैठकले निर्णय गरेको संघले जनाएको छ ।
यस वर्ष ग्लोबल मिडियाकी सम्पादक डिम्दोङलाई 'दीपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार– २०८२', म्हेन्दोला फोलेका सञ्चालक सुनिल दोङ लामालाई 'रवीन्द्र तामाङ पत्रकारिता पुरस्कार–२०८२'र नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको ‘तामाङ तामसोर’का प्रस्तोता एवं पत्रकार वीरबल तामाङलाई 'तामाङ मातृभाषा पत्रकारिता पुरस्कार–२०८२' प्रदान गरिने निर्णय भएको संघकी महासचिव सरस्वती तामाङले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
सुनिलालाई १५ हजार र वीरबललाई १० हजार रुपैयाँ राशि, सम्मानपत्र दिइने छ । पत्रकारहरुलाई पुरस्कृत गर्नका लागि छनौट समिति गठन गरिएको थियो । बाट सिफारिस भएको र मिति २०८२ मंसिर १८ गते बसेको संघको संघीय सचिवालय समितिको बैठकको निर्णय अनुसार
पुरस्कार संघले आइतबार (मंसिर २१ गते) बिहान ८ बजेबाट मेलुङ थकाली किचेन बालुवाटारमा संघीय कार्यसमितिको २२ औं स्थापना दिवस र केन्द्रीय समितिको पूर्ण बैठकका अवसरमा वितरण गरिने जनाएको छ । कार्यक्रम मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा हुने संघका अध्यक्ष नेत्र तामाङले जानकारी दिनुभयो ।
तामाङ पत्रकार संघ तामाङ पत्रकारहरूको साझा संस्थाको रूपमा २०६१ सालमा स्थापना भएको हो । सञ्चारमा तामाङ समुदायको पहुँच विस्तार तथा तामाङ पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि क्रियाशील रहँदै आएको छ । संघको २ वटा प्रदेश, २३ वटा जिल्ला र दक्षिण कोरिया प्रवास कार्यसमिति विस्तार भइसकेको छ । यस संस्थाले विभिन्न सरकारी निकाय, स्थानीय सरकार, गैरसरकारी संघ संस्थाहरूको सहकार्यमा पत्रकारिता तालिम, सञ्चार अनुसन्धान, बुलेटिन तथा पत्रिका प्रकाशन, पुस्तक प्रकाशन, पत्रकारिताको विकासका साथै तामाङ भाषा, साहित्य, संस्कृति, धर्म, कलाको प्रवद्र्धनलगायत विभिन्न विषयमा अन्तरक्रिया, बहस लगायतका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।
