काठमाडौं । महिला सञ्चारकर्मीहरुको स्वामित्वमा सञ्चालित ग्लोबल मिडियाकी सम्पादक अञ्जु डिम्दोङ (तामाङ)लाई पुरस्कृत हुनुभएको छ ।
तामाङ पत्रकार संघको २२ औं स्थापना दिवसमा आइतबार काठमाडौं आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक समेत रहनुभएकी अन्जु 'दीपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार–२०८२'बाट सम्मानित हुनुभएको हो । उहाँलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङ,पत्रकार स्व दीपेन्द्र दोङकी पत्नी चाँदनी मोक्तानले १० हजार नगद राशि, सम्मानपत्र प्रदान गर्नुभयो ।
सिन्धुलीकी पत्रकार डिम्दोङ २०६७ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँले सिन्धुलीमा स्थानीय एफएम, काठमाडौंमा रेडियो मैत्री एफएम, रातोपाटी अनलाइनलगायत विभिन्न सञ्चारमाध्यममा अनुभव बटुलिसक्नु भएको छ । उहाँ हाल ग्लोबल मल्टिमिडिया प्रालिद्वारा सञ्चालित ग्लोबल मिडिया डटकमको प्रबन्ध निर्देशक तथा सम्पादकको भूमिकामा रहनुभएको छ ।
कार्यक्रममा म्हेन्दोला फोलेका सञ्चालक सुनिल लामा दोङलाई 'रवीन्द्र तामाङ पत्रकारिता पुरस्कार–२०८२' र नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको ‘तामाङ तामसोर’ कार्यक्रमका सम्पादक तथा प्रस्तोता वीरबल तामाङलाई 'तामाङ मातृभाषा पत्रकारिता पुरस्कार–२०८२' प्रदान गरियो ।
संघका संस्थापक अध्यक्ष रवीन्द्र तामाङले स्थापना गरेको 'रवीन्द्र तामाङ पत्रकारिता पुरस्कार' को राशि १५ हजार रुपैयाँ रहेको छ । तामाङ मातृभाषा पत्रकारिता पुरस्कारको राशि पनि १० हजार रुपैयाँ छ ।
यस्तै, पाँच हजार राशिको 'कालिका तामाङ नारी प्रतिभा–२०८२' बाट नाट्यकर्मी तथा सञ्चारकर्मी शान्ति वाइबा तामाङ सम्मानित हुनुभएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै ऊर्जामन्त्री घिसिङले तामाङ पत्रकार संघसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले आसन्न निर्वाचनबाट सही व्यक्ति निर्वाचित गराउने विषयमा पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । 'देश परिवर्तनको संघारमा छ । अर्को सरकार कस्तो आउने, नेतृत्व कस्तो आउने भन्ने कुरामा तपाईंहरु (पत्रकार)को भूमिका महत्त्वपूर्ण हुन्छ, ' मन्त्री घिसिङले भन्नुभयो, 'आम पब्लिकमा तपाईंहरुले पठाउने म्यासेज महत्त्वपूर्ण हुने भएकोले निर्वाचनमा सही मान्छेहरुलाई प्रमोसन हुने गरी काम गर्नुहोला, मेरो आग्रह छ ।'
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, नेपाल तामाङ घेदुङका महासचिव जगतमान दोङ, संघका पूर्वअध्यक्ष रुद्रसिंह तामाङलगायतले तामाङ पत्रकार संघ र पत्रकारले आगामी दिनमा खेल्नु पर्ने भूमिकाको बारेमा बोल्नुभएको थियो ।
अध्यक्ष नेत्र तामाङले २२ वर्षको यात्रामा तामाङ पत्रकार संघ परिपक्व बन्दै गएको भन्दै आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा संस्थापक तथा लेखक रवीन्द्र तामाङले 'तामाङ पत्रकार संघको विगत, तामाङ पत्रकारिताको वर्तमान अवस्था'बारे कार्यपत्र प्रस्तुत गरेका थिए । आइतबार नै संघको केन्द्रीय समितिको पूर्ण बैठक र रक्तदान कार्यक्रम सम्पन्न भएको अध्यक्ष तामाङले बताउनुभयो ।
तामाङ पत्रकार संघ २०६१ मंसिर २१ मा स्थापना भएको थियो । संघले प्रत्येक वर्ष यही दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
