नुवाकोट । नेतृत्वका आकांक्षी धेरै भएपछि नेकपा (माओवादी केन्द्र) नुवाकोट तादी गाउँपालिकाको सम्मेलन लम्बिएको छ ।
सर्वसम्मत नेतृत्वका लागि ५५ सदस्यीय समिति चयन गरेर पदाधिकारीको विषयमा आइतबार राति अबेरसम्म बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो । केन्द्रीय नेतृत्व र निर्वाचन समितिले अनुप पाण्डेको अध्यक्षतामा सहमतीय टिम खडा गरे पनि दाबेदार पछि नहटेपछि सम्मेलन लम्बिन पुगेको छ ।
माओवादी तादी स्रोतका अनुसार अध्यक्षमा रोशन श्रेष्ठ, अनुप पाण्डे, आश्विन पाण्डे र रामहरि पाण्डेले दाबी गरिराख्नु भएको छ । मुख्य त रोशन र आश्विनबीचको टक्करले नेतृत्व चयन प्रभावित बनेको बताइएको छ । अनुप लचिलो देखिनुभएको छ । तर रामहरि पाण्डेले २ भोट आए पनि आफू चुनाव लड्ने अडानमा रहनुभएको माओवादी स्रोतले जनाएको छ ।
सहमतिका लागि बन्दसत्र हलबाट ५५ सदस्यीय कार्यसमिति पारित गरिएको भए पनि पदाधिकारी टुंगिन नसक्दा सहमति कि मतदान भन्ने अन्योल बढेको छ । यद्यपि सोमबार सहमतिका लागि प्रयास जारी रहने ती नेताले बताए ।
अध्यक्षको विषयमा टुंगो नलागेपछि अन्य पदाधिकारीको विषयमा खासै छलफल हुन सकेको छैन । उपाध्यक्षमा पनि ४/५ जनाको दाबी रहेको बुझिएको छ ।
माओवादीको स्थानीय तहमा अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षसहित ७ जनाको पदाधिकारी छानिनुपर्ने व्यवस्था छ ।
माओवादी तादी गाउँ संगठन समितिको दोस्रो सम्मेलन आइतबार प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले उद्घाटन गर्नुभएको हो ।