नुवाकोट । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट नुवाकोट क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार हितबहादुर तामाङले जिल्लाबाट ९ पटक अर्थमन्त्री बन्दा नभएको विकास आफ्नो कार्यकालमा भएको बताउनुभएको छ ।
मंगलबार टिकटक लाइभमार्फत प्रवासी नेपालीलाई सम्बोधन गर्ने क्रममा निवर्तमान संघीय सांसद तामाङले कांग्रेसका दुई नेता ८ पटक र राप्रपाका १ नेता एक पटक अर्थमन्त्री हुँदा नुवाकोटमा नगरेको विकास दुई कार्यकाल लगातार जितेर आफूले गरेको बताउनुभएको हो । 'पञ्चायतकाल र बहुदलीय व्यवस्था आएपछि दिग्गज भनिएकाहरु प्रकाशचन्द्र लोहनी १ पटक, रामशरण महत ७ चोटी र प्रकाशशरण महत १ पटक अर्थमन्त्री बन्नुभयो । गर्न चाहेको भए हरेक वर्ष दुई सडक बन्थे तर गर्न चाहेनन्,' पूर्वमन्त्री तामाङले भन्नुभयो, 'उहाँहरुले गर्नुभएको भए काठमाडौंसँग जोडिएको जिल्ला नुवाकोटमा डाँडैपिच्छे पक्की (पिच) सडक र अन्य पूर्वाधार हुन्थे ।'
सोही क्षेत्रबाट २०७४ र ०७९ मा सानदार जित निकाल्नुभएका पूर्वमन्त्री तामाङले ०७४ अघि दुरावस्था रहेको टोखा-छहरे सडक, गुर्जे-समुद्रदेवी-कुख्रे सडक, मध्यपहाडी (पुष्पलाल) लोकमार्गलगायत सडक पूर्वाधारहरु बनेको बताउनुभयो । 'म जित्नुअघि टोखा-छहरे सडककै अवस्था के थियो ? मालवाहक गाडी त्रिशूली पुग्न ९ घण्टा जति लाग्थ्यो । अहिले सवा १ घण्टादेखि पौने २ घण्टाभित्र विदुर पुग्ने बाटो बनाएका छौं, तर यत्तिले म सन्तुष्ट छैन,' उहाँको भनाइ थियो, 'हाम्रो पार्टीका तत्कालीन अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा प्रस्तावित पुष्पलाल (मध्यपहाडी) राजमार्ग पनि कस्तो बिजोग थियो ? हामी ०७४ मा जितेपछि त्यसलाई बनाउनुपर्छ भनेर नियमित लाग्यौं । काम बिगारेको ठाउँमा खबरदारी गर्ने, जनतालाई आवाज बुलन्द पार्न लगाउने र हामी सम्बन्धित निकायमा धाएर सुधार गर्यौं । अहिले उक्त राजमार्ग गंगटेदेखि-चिसापानीसम्म एकदम राम्रो भएको छ ।'
काठमाडौं-बालाजु-तीनपिप्ले सडक पनि माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुकै कारण बनेको उहाँको भनाइ छ । 'बालाजु-तीनपिप्ले सडक हाम्रै कारण बनेको हो । प्राविधिक हिसाबले हाम्रो तर्फबाट तयारी भएकोले बजेट हालिएको थियो । हाल्ने हो भने अरु पार्टीका अर्थमन्त्री बनेका बेला हालेर बनाउँथे । अहिले काम भएपछि उनीहरुले जस लिने दाबी गरेका मात्र हुन्,' उम्मेदवार तामाङले भन्नुभयो, 'हाम्रो चाहना र योजना पिपलटारसम्मकै सडक बनाउने थियो । महत अर्थमन्त्री हुँदा पक्षपात र कुभावनाका साथ बजेट हालिएकोले रानीपौवादेखि पश्चिम भेगका नागरिकले सहज सडक उपभोग गर्न सकेका छैनन् । जति पनि विकास भएका छन्, हामीले संघ र प्रदेश संयोजनकारी भूमिका गरेरै बनाएका हौं ।' बाग्मती प्रदेशमा तत्कालीन माओवादी केन्द्रबाट राधिका तामाङ दुई कार्यकालदेखि सांसद हुनुहुन्छ ।
अहिले गुर्जेदेखि-समुद्रदेवी-कुख्रे-दुप्चेश्वर सडक राम्रो बनेको छ भने कुण्डला-घलेभन्ज्याङ सडक पनि अगाडि बढेको उहाँले बताउनुभयो । गंगटे-खरानीटार- गोल्फुभन्ज्याङ सडक पनि आफूहरुको तयारीमा अगाडि बढेको उहाँले बताउनुभयो ।
पूर्वमन्त्री तामाङले नुवाकोट ल्यान्डफिल्ड/डम्पिङसाइटका नागरिकले मुआब्जा पाउने र फोहोरको थुप्रोबााट अलग गराउने अवस्था आफूहरुले सिर्जना गरेको पनि जानकारी दिनुभयो ।
आफ्नो कार्यकालमा सडक पूर्वाधारदेखि मठ, मन्दिर, सहिदपार्क, विद्यालय, अस्पताल भवन, स्वास्थ्य चौकी, पर्यटकीय क्षेत्र, सामुदायिक भवनको विकासलगायत थुप्रै संरचना निर्माण भएको बताउनुभयो । 'प्रत्येक पालिकामा नेकपा माओवादीले सञ्चालन गरेको ऐतिहासिक जनयुद्धमा योगदान दिएका र सहादत प्राप्त सहिदहरुको स्तम्भ निर्माण, गुम्बा मठमन्दिर बनाउने कामहरु भए । सामाजिक एकता कायम गर्ने उद्देश्यले सामुदायिक भवन बनाउने, पर्यटन क्षेत्र बनाउने काम भएको छ । काठमाडौंबाट नजिक भएकाले केही घण्टा मनोरञ्जन गरेर फर्कने कारणले आन्तरिक पर्यटक वृद्धि भएको छ,' उहाँले थप्नुभयो, 'खेलाडी आकर्षण र खेल पूर्वाधारहरु बनाउने काम गरेका छौं । २०७४ देखि ८२ सालसम्म आउँदा भौतिक पूर्वाधारहरु अन्य विकासका काम कति भए जनताले देखिरहनुभएको छ । यी आधारले हामी फेरि पनि चुनाव जित्छौं । संगठित रुपमा हामी बलिया भएका छौं ।'
निर्वतमान सांसद तामाङले जनाधार नभएकाले एमाले साढे दुई दशकदेखि पराजय बेहोर्दै आएको, कांग्रेसका उम्मेदवार कहिल्यै चुनाव जित्न नसकेको र विशेष महाधिवेशनपछि पार्टीमा असन्तुष्टि कायमै रहेको, कांग्रेसका उम्मेदवार जनताबाट कहिल्यै अनुमोदन नभएको, पार्टीभित्र पर्यटक उम्मेदवारको आरोप खेपिरहेका कारण र नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नम्बर १ का ७ पालिकामध्ये ३ वटैमा नेतृत्व जितेकाले पनि आफ्नो जित निश्चित रहेको बताउनुभयो ।
'७ पालिकामध्ये खुला रुपमा कांग्रेस-एमालेसँग भिडेर हामीले ३ वटा पालिका जितेका छौं । प्रमुख नजितेको पालिकामा उपाध्यक्ष लोकप्रिय मतसहित हाम्रा नेताहरुले जित्नुभएको छ । इमानदारिताका साथ जनताको सेवा गरेकाले हामीप्रति जनसमुदाय विश्वस्त र आशावादी छन् । अरु दलभन्दा हाम्रो जनाधार छ,' उहाँको भनाइ थियो, 'कार्यकर्ता इमानदार छन्, पार्टीका उम्मेदवार जिताउन लाग्नेछन् । विगतको विरासत पनि त्यही खालको छ । उम्मेदवार सिफारिस गर्दा पनि मलाई एकल सिफारिस गरेको हो ।'
उहाँले मुलुकमा ठुलठूला राजनीतिक उपलब्धिका लागि लडेको पार्टी नेपाली कम्युनिष्ट पार्टीलाई मत दिनुको विकल्प नभएको पनि बताउनुभयो । 'यदि राजनीतिक स्थिरता, दीगो विकास चाहन्छौं । भ्रष्टाचार अन्त्य गर्न चाहन्छौं । सुशासन, समृद्ध नेपालको चाहना हो भने नेपाली कम्युनिष्ट पार्टीलाई मत दिनुको विकल्प छैन । त्यसबाहेक अरु दललाई मत दिनु मूर्खता हो,' उहाँको भनाइ थियो, 'एमाले र कांग्रेसलाई मतदान गर्नु भनेको भदौ २३/२४ को घटना पुनरावृत्ति गर्नु हो ।'
नयाँ शक्ति भनिने रास्वपा विचार, सिद्धान्त र ठोस कार्यदिशाविहीन रहेकोले उनीहरुलाई जनताले नरुचाउने उहाँको भनाइ छ । 'रास्वपाको निश्चित विचार, ठोस कार्यदिशा छैन । अहिले मुलुकको समस्या हल गर्ने ठोस कार्यक्रम छैन । रविदेखि बालेनका राजनीतिक चरित्र नै देखिँदैन । उनीहरुका परिवर्तन विरोधीहरुको संगठन हो । केही ठाउँमा जिते पनि देशको नेतृत्व र विकास गर्ने सम्भव छैन,' उहाँको भनाइ थियो ।
पूर्वमन्त्री तामाङले नेतृत्वका लागि त्याग र बलिदान, निष्ठा र इमान चाहिने उल्लेख गर्नुहुँदै रास्वपालगायत दल संघीयता, धर्मनिरपेक्षता, समावेशिताको समेत विरोधी रहेको बताउनुभयो । कार्यक्रम सञ्चालन असिम तामाङले सञ्चालन गर्नुभएको थियो ।