काठमाडौं । नेपाल प्रहरीले सिन्धुलीमा हिरासत भित्र युवकको मृत्यु भएको घटनाबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालबाट जारी पत्रअनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –३ का २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणको अनुसन्धान गर्न समिति बनाइएको हो ।
विकलाई जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको थियो ।
वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटका हिरासत कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको थियो ।
हिरासतमा युवकको मृत्यु भएको घटनाको सत्य, तथ्य सार्वजनिक गर्न र पीडित पक्षलाई न्याय दिन माग गर्दै रास्वपाका सिन्धुली क्षेत्र नं २ का सांसद आशिष गजुरेल, खगेन्द्र सुनार, रिमा विश्वकर्मा जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा बसेका थिए ।
उक्त घटनाको यथार्थ तथा वस्तुनिष्ठ छानबिन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ।
समितिको सदस्यहरूमा प्रहरी उपरीक्षकहरू रबिन्द्र नाथ पौडेल, इन्द्रजित सुनार, प्रेम रेग्मी र प्रहरी नायब निरीक्षक राजेश्वर सापकोटा रहेका छन् । समितिले सात दिनमा प्रतिवेदन पेश गर्नुपर्ने छ ।
समिति गठन भएसँगै मृतक युवकको शव पोष्टमार्टमको लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको छ । 