दाङ । दाङका विद्यालयस्तरीय ब्याडमिन्टन सम्बन्धी 'शटल टाइम' कार्यक्रम आयोजना गरिएको छ । नेपाल ब्याडमिन्टन सङ्घको आयोजना, ब्याडमिन्टन वर्ल्ड फेडेरेसन तथा ब्याडमिन्टन एसियाको सहयोगमा विद्यालयमा खेलको विकास र विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
कार्यक्रम ६ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको थियो । बालबालिकाहरूलाई ब्याडमिन्टन खेलसँग जोड्दै स्वस्थ जीवनशैली, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको सङ्घले जनाएको छ ।
तल्लो स्तरबाटै प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीका रूपमा तयार पार्ने सङ्घको दीर्घकालीन योजना रहेको छ ।
'शटल टाइम' कार्यक्रममा दाङका १८ विद्यालय बाट ४० जना शारीरिक शिक्षा शिक्षक र ३८ जना विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो । सहभागीलाई राष्ट्रिय संयोजक छविलाल शाहीले प्रशिक्षणमा सहजीकरण गर्नुभएको थियो।
सहभागी शिक्षकहरूलाई ब्याडमिन्टन वर्ल्ड फेडेरेसनबाट प्रमाणित शैक्षिक सामग्री तथा आधुनिक प्रशिक्षण विधिबारे प्रशिक्षित गरिएको छ । यस कार्यक्रमले आगामी दिनमा विद्यालयहरूमा ब्याडमिन्टन प्रशिक्षणलाई थप गुणस्तरीय बनाउने विश्वास लिइएको छ।
शटल टाइम विश्वभर नै ब्याडमिन्टन वर्ल्ड फेडेरेसनद्वारा सञ्चालित एक सफल शैक्षिक परियोजना हो। 'शटल टाइम' मार्फत बालबालिकालाई ओलम्पिक खेल ब्याडमिन्टनको आधारभूत ज्ञान, करियरको सम्भावना र खेलकुदप्रतिको रुचि जगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
नेपाल ब्याडमिन्टन सङ्घले विद्यालयस्तरीय खेलकुद संस्कृतिको विकास गर्दै सक्रिय पुस्ता निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ। दाङबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि सङ्घले आगामी दिनमा देशका अन्य जिल्लाहरूमा पनि यो अभियानलाई निरन्तरता दिने जनाएको छ।