काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन शनिबार हुँदैछ । सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो ।
अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ । प्रवास समितिको सम्मेलन शनिबार नहुने र छिट्टै सम्पन्न हुने उहाँले बताउनुभयो ।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।
माओवादीले यसअघि यही मङ्सिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ । राष्ट्रिय सम्मेलनमार्फत माओवादीले आगामी कार्यदिशा निर्माण गर्ने बताएको छ ।
वाग्मती नेतृत्वका लागि दर्जन आकांक्षी
वाग्मती प्रदेश नेतृत्वका लागि दर्जन आकांक्षी देखिएका छन् । शनिबारदेखि सुरु हुने प्रदेश सम्मेलनबाट चयन हुने अध्यक्षलगायत पदाधिकारीमा पूर्वमन्त्रीदेखि गाउँपालिका अध्यक्षसम्मका नेताहरु दाबेदार देखिएका हुन् । सम्मेलन स्काई दरबार हल, सिंहदरबारमा हुँदैछ ।
नेतृत्वमा आउनले केही नेताले आफू र आफू निकटका लागि लबिङ सुरु थालेका छन् । माओवादी केन्द्रले प्रदेश कमिटीमा सकेसम्म केन्द्रीय सदस्यबाट नदोहोर्याउने भनिए तापनि धादिङका शालिकराम जम्कट्टेल, भक्तपुरका दिलीप प्रजापति, सिन्धुपाल्चोकका माधव सापकोटा अध्यक्षका दाबेदार देखिन्छन् । जम्कट्टेल वाग्मती माओवादी प्रदेशसभा दलका नेता तथा आर्थिक मामिलामन्त्रीसमेत हुनुहन्छ ।
त्यसैगरी अध्यक्षको दाबी गर्नेमा केन्द्रीय प्रनितिधि तथा काभ्रे जिल्ला इन्चार्ज सुर्यमान दोङ ‘लालध्वज’, काभ्रेकै दिननाथ गौतम ‘प्रयास’ सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल रहनुभएको छ । दोङ संविधासभा सदस्य र पूर्वराज्यमन्त्री हुनुहुन्छ भने गौतम स्थानीय सरकारका गाउँपालिका अध्यक्ष हुनुहुन्छ । पौडेल माओवादी सम्बद्ध जनसाँस्कृतिक महासंघका अध्यक्ष हुनुहुन्छ ।
संविधानसभा सदस्य एवं केन्द्रीय सदस्य देवी खाड्काले सकेसम्म सहमतीय आधारमा नेतृत्व चयन हुने बताउनुभयो । आकांक्षीहरु धेरै भएको र चर्चामा रहेकामध्ये कुनै पात्रामा पनि सहमतिको संभावना नरहे माथिल्लो नेतृत्वबाट अध्यक्ष बन्नुपर्ने मत पनि बलियो रुपमा उठिरहेको स्रोत बताउँछ । माथिल्लो तहबाटै नेतृत्व चयन गर्नुपर्दा वर्तमान सहइन्चार्ज हितबहादुर तामाङलाई अध्यक्ष बनाएर जाने कुरामा सर्वसम्मती हुन सक्ने एक केन्द्रीय सदस्यले बताउनुभयो ।