काठमाडौं । नेकपा (माओावादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको शनिबारको बन्दसत्रबाट विधान पारित भएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइसक्नुभएपछि विधान पारित गरिएको हो । जवाफका क्रममामा गुरुङले सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न आग्रह गर्नुभएपछि महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको माओवादी केन्द्रले जनाएको छ ।
विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ।
महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ ।
केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।