जनकपुरधाम । प्रदेश २ को नाम र राजधानीको टुंगो लगाउन बसेको विशेष समितिले छलफललाई तीव्रता दिएको छ ।
प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठन गरिएको उक्त समितिले काम थालेको १५ दिन भित्र प्रदेशको नामाकरण र राजधानी विषयमा सघन छलफल प्रतिवेदन प्रदेश सभामा पेस गर्न समय दिएको छ ।
सीमित समय तोकिएकाले समितिको नियमित बैठक बस्ने गरेको सभामुख यादवले बताउनुभयो । समितिको कार्यविधि पास भइसकेको भन्दै सभामुख यादवले दलहरूले प्रदेशको नाम र राजाधानी प्रस्तावमा सकरात्मक छलफल भइरहेको बताउनुभयो ।
जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेको छ भने एमाले र नेकपा एसले जानकी, कांग्रेसले मिथिला–भोजपुरा नाम प्रस्ताव गरेका छन् । पर्सा केन्द्रित सबै पार्टीका सांसदहरूले मध्य मधेस नाम राख्नुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।
समितिमा दलहरूले गरेको प्रस्तावका साथै स्वतन्त्र रूपमा सासदहरूले गरेको प्रस्तावमा पनि छलफल भइरहेको सभामुख यादवले बताउनुभयो ।
प्रदेश सभाको ८औँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले जारी अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउन सरकार गम्भीर रहेको बताउनुभयो ।
सरकारका सहयोगी दल नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता तथा उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले सत्ता रुढ दलहरूकै प्रदेशको नाम र राजधानीको प्रस्ताव फरक फरक भए पनि साझा प्रस्तावको विषयमा सत्तारुढ दलहरूबीच छलफल भइरहेको बताउनुभयो ।
जानकी मधेश, मिथिला मधेश, मध्य मधेश लगायतमा साझा एजेण्डा हुन सक्ने उहाँले बताउनुभयो । सत्तारुढ दल कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुश्वाहाले प्रदेशको नाम र राजधानीको विषयमा आफ्नो पार्टी हदैसम्मको लचकता अपनाउने बताउनुभयो । ।
प्रदेश सभामा जसपा ३९, कांग्रेस १९, लोसपा १६, एमाले आठ, माओवादी केन्द्र आठ, नेकपा एमाले १३ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीको एक सिट छ ।