काठमाडौं । माओवादी कम्युनिस्ट पार्टी, नेपालका प्रमुख गोपाल किरातीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनका विषयलाई लिएर गम्भीर टिप्पणी गर्नुभएको छ ।
पूर्वमन्त्री र पूर्वमाओवादी नेता किरातीलाई माओवादी पार्टी होच्याउने ढंगले 'खाओवादी'को संज्ञा दिनुभएको हो । उहाँले भर्खरै सकिएको माओवादीको आठौं सम्मेलनमा लिइएको कार्यदिशाबारे ५ बुँदामा आइतबार सामाजिक सञ्जालमार्फत आलोचनात्मक र विरोधपूर्ण टिप्पणी गर्नुभएको छ ।
किरातीको स्टाटस्
दृष्टिकोण : खाओवादी कार्यदिशाको प्रचन्ड माके प्रतिवेदनबारे
आफ्नो आठौं महाधिवेशनबाट प्रचण्ड माकेले जुन राजनीतिक प्रतिवेदन पारित गर्यो, त्यसलाई हेर्ने हाम्रो पार्टी दृष्टिकोण निम्नानुसार हुनेछ :
१. माओवादको सिद्वान्त र माओवादी पार्टी त्यागेर गएको, तर अदालतको फैसलाले माके बोक्न बाध्य हुनु परेकोमा सार्वजानिक आत्मालोचना गर्नु पर्थ्यो । सो नगरेको हुँदा प्रचन्ड माके माओवादी रहेन र किमार्थ होइन।
२. सर्वहारा साँस्कृतिक रुपान्तरणको सामूहिक प्रतिवद्वता गर्नु पर्थ्यो। सो नगरेको अर्थात सर्वहारा वर्गको दृढ पक्षधरता जाहेर नगरेको हुनाले प्रचन्ड माके कम्युनिस्ट पार्टी हुँदै होइन ।
३. समाजवादको स्पष्ट कार्यक्रम ल्याउनु पर्थ्यो। सो नल्याएको हुँदा प्रचन्ड माके काल्पनिक समाजवादी ठहर्छ, वैज्ञानिक समाजवादी होइन।
४. देशद्रोही एमसीसी खारेज गर्नु पर्थ्यो। सो नगरेर परिमार्जनको अवसरवादी नीति लिएको हुनाले प्रचन्ड माके देशभक्त पनि होइन र
५. उत्तराधिकारी निर्माण तथा नेतृत्व हस्तान्तरण गर्नु पर्थ्यो । सो नगरेको हुँदा प्रचन्ड माके प्रगतिशील पनि रहेन ।
आखिर त्यो हो त के ?
त्यसले लिएको उपरोक्त (माओवाद विरोधी, कम्युनिस्ट विरोधी, समाजवाद विरोधी, देश विरोधी तथा गैर-प्रगतिशील) वैचारिक-राजनीतिक कार्यदिशा र त्यसका नेताहरुको वर्ग चरित्रले प्रमाणित गर्छ, प्रचन्ड माके पुँजीवादी गणतन्त्रवादीसम्म हो। त्यसको आवरण माओवादी, अन्तर्वस्तु खाओवादी हो, भनेर हाम्रो पार्टी (माओवादी कम्युनिस्ट पार्टी, नेपाल) ले दृढ आलोचना गर्दै अघि बढ्नु पर्छ ।