काठमाडौं । निर्वाचन आयोगले १९ पदका लागि बुधबार भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। निर्वाचनमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएका थिए । जसमध्ये सत्ता गठबन्धनको १८ र एमालेको एक गरी १९ उम्मेदवार विजयी भएका छन् ।
वाग्मती : वाग्मती प्रदेशको बुधबार हेटौँडामा सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार क्रमशः कृष्णप्रसाद पौडेल र गोमादेवी तिमल्सिना विजयी हुनुभएको छ । वाग्मतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै पौडेल र तिमल्सिना निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो । गठबन्धनबाट उम्मेदवार बन्नुभएकी तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ । तिमल्सिना र पौडेल क्रमशः ४६३ र ४५० मतभारले विजयी हुनुभएको हो ।
प्रदेश १ : प्रदेश १ मा सत्तारूढ गठबन्धनका उम्मदवार गोलाप्रथाबाट राष्ट्रिय सभामा निर्वाचित भएका छन्। बराबर मत आएपछि कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो। यसअघि बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याउनु भएको थियो । बराबर मत आएपछि निर्वाचन अधिकृतले गोलाप्रथाबाट विजयी टुंग्याउदा निर्णय गरे पछि झापाका पुराना कांग्रेस नेता गोपालकुमार बस्नेत विजयी हुनुभएको हो ।
मधेस प्रदेश : मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धका उम्मेदवार विजयी हुनुभएको छ । महिलातर्फ उर्मिला अर्याल र अन्यतर्फ मोहम्मद खालिद सिद्धिकी विजयी हुनुभएको हो । अर्याल नेकपा ९माओवादी केन्द्र०का र सिद्धिकी जसपाका उम्मेदवार हुनुहुन्छ । सिद्धिकी छ हजार ६७८ मतभारसहित विजयी भएको छ भने अर्यालले छ हजार १५६ मतभार ल्याएर विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत विकास बस्नेतले जानकारी दिनुभयो ।
गण्डकी : गण्डकी प्रदेशका तीन सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएको छ। सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका सुरेशकुमार आलेमगर तीन हजार ९६ मत प्राप्त गरी विजयी हुनुभयो । महिलातर्फ नेपाली कांग्रेसका कमला पन्तले तीन हजार ८४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लीला पोखरेल९थनेत०ले दुई हजार ७२४ मत प्राप्त गर्नुभयो । यसैगरी दलिततर्फ माओवादी केन्द्रका भुवनबहादुर सुनारले तीन हजार ४८ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार सुनामले दुई हजार ७२४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।
कर्णाली : कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी भएका छन् । सत्ता गठबन्धन दलको उम्मेदवारमा महिला क्लस्टरमा नेपाली कांगे्रसबाट दुर्गा गुरुङ सुर्खेत, अपाङ्गता÷अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट ९सुर्खेत० र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा सल्यान विजयी हुनुभएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।
सुदूरपश्चिम : प्रदेशमा पनि गठबन्धन दलका साझा उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्यतर्फ नेकपा ९एकीकृत समाजवादी०का मदनकुमारी शाह गरिमा, दलिततर्फ नेकपा माओवादी केन्द्रका जगत पार्की र अन्य समूहतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी हुनुभएको छ ।
लुम्बिनी : लुम्बिनी प्रदेशका वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार युवराज शर्मा, नेकपा एकीकृत समाजवादी० का उम्मेदवार कमेरड राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका उम्मेदवार तुलप्रसाद बि.क निर्वाचित हुनु भएको छ । 