काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पार्नुभएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि खुलाउनुभयो । उहाँले भन्नुभयो,‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन ।’
रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताउनुभएको छ । यद्यपि आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं ।’
उहाँले हार्ने मनस्थितिका कारण सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,‘स्थानीय तहको निर्वाचन त हुनुपर्छ । निर्वाचन गर्नैपर्छ नि, कानुन र संविधान मान्ने हो भने निर्वाचन समयमै गराउनुपर्छ । स्थानीय तहको निर्वाचन सार्न यो गठबन्धनका नेताहरुले मरिहत्ते गरिरहेका थिए । तर, जनस्तरबाट चर्को दबाब आएपछि र विरोध भएपछि उनीहरु हच्किएका छन् । तत्काल निर्वाचनको मिति घोषणा हुनुपर्छ । उनीहरुले चुनाव जित्ने भएको भए निर्वाचन सार्न खोज्दैन् थिए नि । हार्ने मनस्थिति देखेरनै उनीहरुले गठबन्धन गरेर चुनाव सार्न खोजेका थिए । संविधानको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।’
उहाँले एमसीसीको सवालमा पहिले सरकार तात्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘पहिले तावा तात्नुपर्छ, अनि रोटी पाक्छ, बिँड तात्यो भने हात पोल्छ । एमसीसीबारे पहिले सरकारले आफ्नो धारणा ल्याओस् ।’