काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी चयन यस पटक टुंगो नलाग्ने देखिएको छ ।
शुक्रबार र शनिबारका लागि प्रज्ञा भवनमा डाकिएको केन्द्रीय समितिको दोस्रो बैठक स्थानीय तह निर्वाचन तयारीका विषयमा केन्द्रित हुने भएको हो । सरकारले आगामी वैशाख ३० मा एकै चरणमा स्थानीय निर्वाचन गर्ने मिति तय गरिसकेको छ । माओवादीका एक शीर्ष नेताले भने, 'यो बैठक केन्द्रीय समितिलाई पूर्णता दिने र स्थानीय चुनावको योजना तय गर्न केन्द्रित हुन्छ ।'
गत निर्वाचनमा स्थानीय तहमा कम सिट जितेको माओवादीले यो पटक पार्टी कमिटी विस्तार र मजबुत भएको दाबी गरिरहेको छ । अहिले पदाधिकारी चयनको लफडामा अल्झिँदा निर्वाचन तयारी र परिणाममा असर पर्ने बुझाइ नेताहरुको छ । निर्वाचन तयारी एकातिर छ भने महासचिवलगायत पदमा आकांक्षी धेरै रहेकोले नेतृत्वलाई टुंग्याउन हम्मे परिरहेको माओवादी नेताहरु नै बताउँछन् ।
गत पुस ११ गते सुरु भइ ८ दिनसम्म चलेको ८ औं महाधिवेशनपछिको पहिलो बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुन: चयन गर्नुबाहेक पदाधिकारी टुंगो लगाइएको छैन ।
अन्य पदाधिकारी छिनोफानो गर्न केही सहज हुने भए पनि मुख्यत: महासचिव को बन्ने ? भन्नेमा माओवादीभित्र ठूलो बहस चलिरहेको छ ।
हेटौंडा महाधिवेशनबाट सचिव बनिसक्नुभएका वर्षमान पुन ‘अनन्त’र अर्थमन्त्री रहनुभएका नेता जनार्दन शर्मा ‘प्रभाकर’ महासचिवका बलियो दाबेदार देखिनुभएको छ । दुवै अध्यक्ष प्रचण्डका विश्वास पात्र मानिनु हुन्छ । यसैगरी, पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ र उर्जामन्त्री पम्फा भुसालले पनि महासचिवमा इच्छा देखाइरहनुभएको माओवादी स्रोतले जनाएको छ । सहमतिमा पदाधिकारी चुन्न नसके चुनावी प्रक्रियामा जाने समेत आकांक्षीहरुले बताउँदै आएका छन् ।
निर्वाचनको संघारमा आन्तरिक नेता चुन्ने काममा लाग्नुभन्दा स्थानीय तहमा पार्टीलाई बलियो रुपमा उपस्थिति गराउने अहिलेको मुख्य काम भएको अर्का एक नेताको भनाइ छ । ती नेताले भने, 'केन्द्रीय समिति बैठकले केन्द्रीय समितिको पूर्णता, स्थायी समिति र पोलिटब्यूरोको टुंगो लगाउने छ । त्यसपछि चुनाव केन्द्रित छलफल हुनेछ ।'
माओवादीको महाधिवेशनबाट पारित विधानअनुसार पदाधिकारीको संख्या १५ सदस्यीय रहेको छ । केन्द्रीय समिति २९९ सदस्यीय रहेको छ भने केन्द्रीय समितिको कूल सदस्य संख्याको एक तिहाईको पोलिटब्यूरो र पोलिटब्यूरोको एकतिहाई हुने गरी स्थायी समिति गठन हुने व्यवस्था रहेको छ । जसमध्ये महाधिवेशन हलबाट २३६ चयन भइसकेका छन् ।