नुवाकोट । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले २५/३० हजार कमाउन पालिकावासी अब विदेशिनु नपर्ने बताउनुभएको छ ।
गाउँपालिकामा बिहीबार आयोजित वैदेशिक रोजगारसम्न्बधी अन्तक्रिया कार्यक्रमको उद्घाटनका क्रममा बोल्नुहुँदै अध्यक्ष थापाले पालिकावासी विदेशिन नपर्ने गरी आफू नेतृत्वको सरकारले पशुपालन र कृषिलाई व्यावसायिकीकरणमा जोड दिइरहेको बताउनुभएको हो ।
'जीवनयापान गर्न, जहान परिवार सञ्चालन गर्नका लागि यहीं अवसर खोज्नु पर्छ । शिवपुरीले पनि दाजुभाइ, दिदीबहिनीहरु २५-३० हजार कमाउन देश छोडेर, लगानी ठूलो गरेर ४०/४५ डिग्रीको तातोमा जान नपरोस् भनेर पशुपालन र कृषिलाई व्यावसायीकरण गर्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छौं । कतिपय यहाँहरुलाई पनि जानकारी होला,' उहाँले भन्नुभयो ।
बाध्यता र फेसनको रुपमा विदेशिनाले गाउँमा युवापुस्ता नै नहुने अवस्था हुन लागेको भन्दै अध्यक्ष थापाले यसको व्यवस्थापनमा पालिका लागिरहेको पनि बताउनुभयो । 'धन कमाउन भनेर विदेश गएकाहरु बाकसमा फर्किएका छन् । कतिको त घरबासै बिग्रिएको छ,' उहाँले भन्नुभयो, 'गाउँघरमा वृद्ध बाबाआमामात्रै हुने अवस्था देखिँदै छ । हामीले यसको व्यवस्थापन गर्न सकिएन भने, समस्या हुन्छ ।'
राज्य सञ्चालनमा ठूलो हिसा विदेशिएका नेपालीबाट आएको रेमिट्यान्स भए पनि हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरुले दु:खकष्ट भोगिरहेको उहाँको भनाइ छ । 'यहाँ ऋण गरेर गए पनि तिर्न नसकेर अर्को खाल्डोमा फसेर, स्वास्थ्य खराब भएर उल्टो नेपालबाट खर्च पठाउनुपर्ने जस्ता विविध समस्या छन्,' उहाँले सुझाउँदै भन्नुभयो, 'हामीलाई विदेश जाने हुटहुटीमात्रै भयो । कसले पठाउने हो ? के काम गर्ने हो भन्ने नबुझेर समस्या आको हो । यहाँ सिप केही पनि छैन । त्यत्तिकै गयो । त्यहाँ भाषा जानिने कुरा भएन । खाली लाटोजस्तो इसाराको भरमा काम गर्नुपर्ने अवस्था छ । त्यसैले सिकेर जानुपर्छ । बुझेर जानुपर्छ । सुसूचित भएर जानुपर्छ । यो खाँचो बढ्दै गएको छ ।'