काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन बनाउँदाको मूल्यमान्यता दृढ रहन सहयात्री दलहरुलाई अपिल गर्नुभएको छ ।
२७ औं जनयुद्ध दिवसको अवसरमा आइतबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन गरिएको उल्लेख गर्दै त्यही मूल्यमान्यता अनुसार अगाडि बढ्न अपिल गर्नुभएको हो । 'म आम जनतालाई अपिल गर्न चाहन्छू, यो गठबन्धन जुन मूल्यमान्यतामा टेकेर बनाएका हौं, हामी त्यसैमा दृढ रहौं । आम जनताले हामीलाई जे उद्देश्यका लागि साथ दिएको हो । मलाई विश्वास छ । अहिले जनता त्यही विश्वास र भरोषा छन् । त्यसलाई कसैले मिनिमाइज्ड गर्नु हुँदैन । त्यसलाई हामीले उच्च समाान गर्नुपर्छ,' प्रचण्डले भन्नुभयो, 'जनताको त्यो मर्म र भावनाअनुसार नै अरु परिघटना हुन्छन् र राख्नुपर्छ ।'
विवादित बनेको अमेरिकी सहयोग एमसीसी सम्झौताका कारण सत्ता गठबन्धन टुट्ने खतराप्रति लक्षित गर्दै दाहाले कुनै सम्झौता लागू गर्ने हिसाबमा गठबन्धन नगरिएको प्रस्ट पार्नुभयो । 'संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन गरिएको हो । कुनै खास परियोजना गर्ने या नगर्ने भन्ने आधारमा गठबन्धन गरिएको होइन,' उहाँले भन्नुभयो, 'अहिले कसैले कुनै परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यसले हाम्रो ऐतिहासिक धरातल भत्काउनु जस्तै हुन जान्छ ।'
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि एक ठाउँमा उभिएका वाम-लोकतान्त्रिक गठबन्धन बनेको थियो । जसमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।
अध्यक्ष प्रचण्डले जनयुद्धको उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै नयाँ एकता कायम गरेर त्यसका विरुद्ध लाग्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले प्रतिगमन र प्रतिक्रान्तिका विरुद्धमा माओवादी एकताबद्ध हुन अपिल पनि गर्नुभयो । कहाँ कसले के कमजोरी गर्यौं, आत्म समीक्षा गरौं र एकता गरेर मात्रै राष्ट्रिय स्वाधिनता र समाजवादको यात्रामा जान सकिने उहाँको भनाइ थियो ।