काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसीमात्र टेबुल गर भन्नु उपयुक्त नहुने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकमा प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भए तापनि अहिलेको परिस्थिति अनुकूल नरहेको धारणा राख्नुभएको हो । बैठकका सम्बन्धमा प्रचण्डको सचिवालयले भनेको छ, 'अध्यक्ष कमरेड प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भए तापनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसीमात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रस्ट गर्नुभयो ।'
सचिवालयका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई एमसीसी टेबुल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो तर प्रधानमन्त्री शेरबहादुर देउवा भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनुभएको छ । बिहानको बैठकमा एमसीसी सम्झौता संसद्मा पेस गर्न गठबन्धनका नेताहरु सहमत भएको समाचार बाहिर आइसकेको छ ।
आजको शीर्ष नेतृत्वको वालुवाटार छलफलका सम्बन्धमा
१. अध्यक्ष कमरेड प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनी हाल लामो समय देखी सदन अबरुद्ध भएको र अरु कुनै पनि विधेयक टेवल नभएको अवस्थामा सभामुखलाई MCC मात्र टेवल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो।
२. अध्यक्ष कमरेडले यदी तपाईं टेवल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नु भयो तर प्रधानमन्त्रीज्यू भने टेवल गरेर प्रक्रियामा लैजाने अडानमैं रहनु भएको छ।
३. उपरोक्त स्थितिमा आ-आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भयो।
- अध्यक्ष कमरेड प्रचण्डको सचिवालय