काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हितबहादुर तामाङले सत्ता साझेदार नेपाली कांग्रेस अमेरिकाको चाकडीमा लागेको आरोप लगाउनुभएको छ । सत्ता गठबन्धनमा असहमति, सडक र सदनमा विरोध हुँदाहुँदै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई जबर्जस्ती सदनमा लागिएको भन्दै उहाँले त्यस्तो आरोप लगाउनुभएको हो ।
प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका तामाङले मंगलबार हिमालयन टेलिभिजनसँगको अन्तर्वार्तामा राष्ट्रघाती एमसीसी परियोजनाबाट आउने भनिएको अनुदान रकम खास ठूलो नभए पनि कांग्रेस नेताहरु हुन्डी नपाउने डरले चाकडीमा लागेको र र्याल चुहाइरहेको टिप्पणीसमेत गर्नुभयो ।
'एमसीएका कर्मचारीले खाने तलब नेपालका निजामती कर्मचारीलाई बाँड्ने हो भने ४/५ जनालाई पुग्ने हुन्छ । त्यसैले धेरै पैसा उतै (अमेरिका) जान्छ । भनेपछि नेपालमा कति खर्च हुनेरहेछ त । एउटा सुरुङ पनि नखन्ने रहेछ । अनि यो पैसामा त्यत्रो विधि र्याल चुहाइरहनुपर्ने ?,' एमसीसीको पैसाले नेपालको कायलपलट हुने कांग्रेस नेताहरुको भनाइको प्रतिवाद गर्दै सांसद तामाङले भन्नुभयो, 'उहाँहरुले अमेरिकाको चाकडी गर्नुभएको के चाकडी । यदि चाकडी गरेन भने अमेरिकाले हुन्डी पनि दिँदैन । यहाँ बाँच्न पनि सकिँदैन भन्ने मानसिकताको उपजको अभियक्ति हो ।'
'एमसीसी पास गराएर कांग्रेस नेतृत्व राष्ट्रघाती हुन खोजेको देखिन्छ । कतिपय मान्छेहरु जानेर-नजानेर पनि लागेका छन् । डलर आउँछ नि डलर भन्ने कुरा गरिराखेका छन्,' पूर्वमन्त्री तामाङले अगाडि भन्नुभयो, 'जाबो ५० अर्ब । नेपालमा एउटा तहको चुनाव गर्न पनि नपुग्ने रहेछ । सबै हिसाबकिताब त मैले गरेको छैन । तर एनजीओ, आइएनजीओको आएको रकम धेरै तलब भत्तामा र यातायात खर्चमा सिद्धिन्छ भन्ने छ । अनि के को लोभ ?'
एमसीसी सम्झौता बिनासंशोधन पास गराउन खोजिए माओवादी केन्द्र विपक्षमा लाग्ने उहाँको भनाइ थियो । एमसीसी प्रस्ताव अनुमोदनको विषय एमालेलगायत दलको भूमिकामा निर्भर रहने भन्दै उहाँले माओवादीले विपक्षमा मत हाल्ने बताउनुभयो । 'एमसीसी पास गर्ने पक्षमा हामी कुनै पनि हिसाबले साथ दिँदैनौं । पास हुन्न त ठ्याक्कै भन्दिनँ । किनभने जिम्मेवार भनिएका दलहरुले पनि आफूलाई जिम्मेवार ढंगले प्रस्तुत गराउन सकिराखेका छैनन् । उनको भूमिकामा निर्भर हुन्छ । तर हाम्रो चाहना हन्ड्रेड पर्सेन्ट यसलाई फेल गराउने हो । विपक्षमा मत हाल्छ,' उहाँको भनाइ थियो ।
एमसीसी लागू नगराएको बहानामा अमेरिकाले सबै सहयोग रोकेमा नेपाल आफैं बाँच्ने, आफ्नो खुट्टामा उभिने अवसर प्राप्त हुने पनि तामाङको भनाइ थियो ।
संविधान, लोकतन्त्रको रक्षा र प्रतिगमनलाई सच्याउन पाँच दलीय गठबन्धन बनेको स्मरण गराउँदै सांसद तामाङले असहमति भयो भने जुनसुकै बेला गठबन्धन भत्किन सक्ने पनि बताउनुभयो । 'निश्चित एजेन्डाका आधारमा हामी गठबन्धनमा छौं । यसलाई सार्थक तुल्याउने सवालमा हाम्रो सहमति हुन्छ, गठबन्धनमा बस्छौं । सहमति हुँदैन, गठबन्धन तोडिन्छ । यो अस्थायी मोर्चा हो ।'