काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको विरोधमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले मंगलबार पनि विरोध प्रदर्शन गरेको छ ।
यथास्थितिमा एमसीसी प्रतिनिधिसभाबाट पारित गर्न लागिएको भन्दै अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समिति र विश्वविद्यालय तथा सीटीईभीटी राष्ट्रिय समिति आबद्ध विद्यार्थीहरुले मंगलबार दिउँसो नयाँ बानेश्वरमा कालो बेलुन उडाएका हुन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता’ प्रस्ताव संसद्मा पेश गर्नुभएको थियो । राष्ट्रिय सहमति कायम गरेर मात्रै सदनमा लैजाने भन्दै लामो समयदेखि एमसीसी सम्झौता रोकिएको थियो । तर, आइतबार बिहान सत्ता गठबन्धनबीच सदनमा लैजाने सहमतिपछि टेबल गरिएको हो । तर, त्यस दिन सत्ता पक्ष माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) का केही सांसदहरुले उठेर विरोध जनाएका थिए ।
नेमकिपा, राष्ट्रिय जनमोर्चाले समेत विरोध जनाए । एमसीसी टेबल हुने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बेल घेराउ गर्दै नाराबाजी गरिरहेको थियो ।
सडकमा पनि माओवादीको भ्रातृ संगठनहरु अखिल (क्रान्तिकारी), योङ कम्युनिस्ट लिग (वाईसीएल) ले प्रदर्शन गरेका थिए । त्यसक्रममा झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।
एमसीसीका विषयमा एमालेले औपचारिक धारणा ल्याइसकेको छैन भने सत्ता पक्षका माओवादी, समाजवादी, जसपा, जनमोर्चालगायतले बिनासंशोधन अनुमोदन गर्न नमिल्ने बताउँदै आएका छन् । तर, कांग्रेस भने जसरी भए पनि अनुमोदन गरिछाड्ने पक्षमा देखिन्छ ।
एमसीसी र अन्य विधेयक अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा बैठक यही फागुन १२ गते बोलाउनुभएको छ ।