काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेको विरोधकाबीच सैद्धान्तिक छलफलका लागि पेस गरिएको एमसीसीबारे धारणा राख्नुहुँदै खनालले आपत्तिजनक बुँदाहरु सच्याउने हो भने मात्रै अनुमोदन गर्ने सकिने बताउनुभएको हो ।
खनालले राष्ट्रको हितविपरीत भएका एमसीसीका सम्झौतालाई संशोधन गर्नुपर्ने भन्दै आफ्नो देशको भविष्य जोगाउन नसक्ने हो भने भोलि यूक्रेनको अवस्था सिर्जना नहोला भन्न नसक्ने दाबी गर्नुभयो । एमसीसी अत्यन्त गम्भीर विषय भएको हुँदा देश र जनताको भविष्यलाई सामान्य रुपमा नसोच्न आग्रह गर्नुभयो ।
सभामुख र प्रधानमन्त्रीले एमसीसीको विषयमा छलफल गर्ने सहजपूर्ण वातावरण बनाउनुपर्ने भन्दै उहाँले बृहत् छलफलपछि नेपालको हितमा भए नभएको बारेमा टुङ्गो लाग्ने र एमालेको विरोध भइरहँदा छलफलको वातावरण नभएको उहाँको भनाइ थियो । विषयवस्तुलाई छलफल गरेर पास गर्ने/नगर्ने अनिमात्रै भन्न सकिने र यो बीचमा अमेरिकाले धेरै कुरामा सवाल जवाफ भएको हुँदा कुनै पनि घोषणा नेपाली जनताको सरोकारको विषय भएकोले धेरै कुरा सदनमा छलफल हुनुपर्ने उहाँको धारणा थियो ।
खनालले भन्नुभयो, ‘अमेरिकाले दिने कुनै पनि कुराको बहिष्कार गर्नुपर्छ भन्ने पक्षमा नभएको तर देशको स्वाधिनताको रक्षा गर्ने सवालमा उठिएका विषयवस्तुलाई भने मध्यनजर गर्नुपर्ने ,सुरक्षा, सामाजिक व्यवस्था, विभिन्न ऐन कानुनका व्यवस्था, साथै एमसीसी लागू भएको खण्डमा विदेशीहरु नेपाल आउन पाउने र उनीहरुको नागरिक्त हेर्न नपाउने,कर लागू नहुनेलगायत धेरै उन्मुक्तिका कुराहरु कुराहरु नेपालको हितविपरीत छ ।’
सत्तारुढ दलले एमसीसीका सम्बन्धमा गरेको व्याख्यात्मक टिप्पणीका सम्बन्धमा जिज्ञासा राख्दै उहाँले त्यसको कार्यान्वयन गर्ने कानुनी आधार के हुने भनी प्रश्न गर्नुभयो ।