काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा रहेको खुलासा गर्नुभएको छ ।
सोमबार आफ्नै निवास ललितपुरको खुमलटारमा आयोजति पत्रकार सम्मेलनमा प्रचण्डले तत्कालीन नेकपाको सचिवालयका बहुमत सदस्य संशोधनको पक्षमा रहे पनि ओलीले बिनासंशोधन पास गर्ने लागिएको बताउनुभएको हो ।
'एमसीसीम केही विषय गम्भीर प्रकृतिका छन् । त्यसकारण आइपीएससँग सम्बन्धित कुरा, नेपालको संविधान एमसीसी कानुन, नेपालको जमिन र अन्य प्राकृतिक साधन स्रोतको स्वामित्वसँग सम्बन्धित कुरा अनि त्यसमा काम गर्ने अफिसियल कर्मचारी सम्बन्धित कुरामा परिमार्जन नगरी पास गरियो भने नेपालको राष्ट्रिय हितमाथि आघात हुन्छ । सचिवालयमा हामी बहुमत सदस्य संशोधन नगरी पारित गर्नुहुन्न भन्नेमा पर्यौं,' उहाँले भन्नुभयो, 'प्रधानमन्त्री केपी ओलीचाहिँ जस्ताको तस्तै पारित गर्नुपर्छ भन्नेमा पर्नुभयो । उहाँ धेरै अल्पमतमा हुनुहुन्थ्यो । ९ जनाको सचिवालय टिममा ७ जना परिमार्जन गर्नुपर्छ भन्नेमा थियौं । केपीजी र एक जना विपक्षमा । यो बहस नेकपाभित्र पनि चल्यो बाहिर समाजमा पनि चल्यो ।'
अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा आफू कार्यकारी अध्यक्ष हुँदा बसेको केन्द्रीय समिति बैठकबाट झलनाथ खनाल नेतृत्वमा भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित एमसीसी कार्यदल बनाएको समेत स्मरण गराउनुभयो ।
प्रचण्डले प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित भएकोले गठबन्धन कायम रहने भन्दै अब सरकार र आफूहरु निर्वाचन केन्द्रित हुने बताउनुभयो । 'अन्तत: हिजोसम्म आइपुग्दा यसलाई निकास दिइएको छ । निकास दिनुअगाडि राजनीतिमा फेरि के होला ? यो गठबन्धन बच्ला या नबच्ला । यो सरकार बच्चा या नबच्ला । अर्को समीकरण बन्ने हो कि या के हुने हो जस्तो स्थिति र हिजोबाट आधारभूत रुपले अहिलेका लागि ती सबै अन्योलहरु अन्त्य भएका छन्,' प्रचण्डले भन्नुभयो, 'गठबन्धन कायम रहन्छ । सरकार अगाडि बढ्छ । अब हामी निर्वाचन प्रक्रियातिर जान्छौं भन्ने कुरा स्पष्ट भएको छ ।'
उहाँले अगाडि भन्नुभयो, 'एमसीसी पोजेक्टको विषयलाई लिएर निकै ठूलो विवाद बहस अन्योल आदि इत्यादि धेरै भए । यो प्रक्रियामा सबभन्दा बढी माओवादी केन्द्र र त्यसको नेतृत्वको हैसियतले म माथि थ्रुप्रै खालका टिप्पणीहरु भए । त्यो तपाईंहरु सबैलाई थाहा छँदै छ ।'