काठमाडौं । राष्ट्रिय सभाका सदस्य सुरेश आलेमगरले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदनपछि सकारात्मक र नकारात्मक पक्षहरु औंल्याउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेतासमेत रहनुभएका आलेमगरले प्रतिनिधिसभाबाट बहुमतका साथ अनुमोदित एमसीसीबारे मंगलबार राति अबेर ६ सकारात्मक र ५ नकारात्मक आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको हो ।
'अन्तत: गत फागुन १५ गते एमसीसी प्रतिनिधिसभाबाट सामान्य बहुमतका साथ अनुमोदित भयो तर सशर्त अर्थात् "व्याख्यात्मक घोषणा (Interpretative Declaration)" सहित । यसका सकारात्मक र नकारात्मक दुवै पक्षहरु छन्,' उहाँले लेख्नुभएको छ,'एमसीसीबारेको अन्योल, असामन्जस्यता, अकर्मण्यता र अनिर्णयको अन्त्य, गठबन्धन कायमै र प्रतिगामीलाई सत्तासीन हुनबाट रोकियो ।'
उहाँले प्रतिनिधिसभा सुचारु नभएको बेलामा एमालेको नाराबाजीका बीचमै जबरजस्ती पारित गरिएको, एमालेले आफूलाई राष्ट्रवादी र माओवादीलाई राष्ट्रघाती भनेर प्रचार गर्ने सम्भावना रहेकोमा शंका व्यक्त गर्नुभएको छ ।
सकारात्मक पक्षहरु :
१. एमसीसीबारेको अन्योल, असामन्जस्यता, अकर्मण्यता र अनिर्णयको अन्त्य,
२. गठबन्धन कायमै (यद्यपि यो ठूलो कुरा हैन) र प्रतिगामीलाई सत्तासीन हुनबाट रोकियो, नत्र भने प्रतिगामी तत्व पुनः सत्तामा आएर प्रतिगामी कुकृत्यहरु गर्ने र देश एवं जनतालाई कष्ट दिने मात्र हैन, एमसीसीजस्ताको तस्तै अनुमोदित हुने निश्चित थियो ।
३. एमसीसी अमेरिकी साम्राज्यवादले चाहेजस्तो जस्ताको तस्तै पारित भएन (यद्यपि देशभक्त र क्रान्तिकारीहरुले चाहेजस्तै पारित गर्न पनि सकिएन),
४. अमेरिकी साम्राज्यवादलाई एक कदम पछि हट्न बाध्य पारिएको (उ पछि नहटेको भए र जस्ताको तस्तै पास गराउने हठमा रहेको भए पूरै गठबन्धनको समर्थन पनि नपाउने र एमालेको पनि नपाउने र अन्तत: परियोजना असफल हुने सम्भावना थियो र उसले यो तथ्य बुझ्यो पनि)
५. व्याख्यात्मक घोषणाले देशभक्तहरुको भावना र उद्देश्य समेटेको र अभिव्यक्त गरेको र यो घोषणा सम्झौताको अंग बनेको
६. अब बल अमेरिकाको कोर्टमा, उ सहमत हुन बाध्य, यदि सहमत भएन वा घोषणालाई समर्थन गरेन भने एमसीसी स्वतः खारेज वा निष्प्रभावी हुने ।
नकारात्मक पक्षहरु :
१. परियोजना सम्झौतालाई खारेज गर्न, त्यसैमा संशोधन गर्न नसकिएको
२. प्रतिनिधिसभा सुचारु नभएको बेलामा एमालेको नाराबाजीका बीचमै जबरजस्ती पारित गरिएको, एमालेले आफूलाई राष्ट्रवादी र हामीलाई राष्ट्रघाती भनेर प्रचार गर्ने सम्भावना रहेको,
४. गठबन्धनकै केही साथीहरुको असहमति र विरोध रहेको,
५. सदनबाटै पारित गरिएको कारण करार सम्झौतालाई पनि सन्धिको हैसियत प्रदान गरिएको,
६. हालसम्मको अवस्थासम्म अमेरिकाको उधारो आश्वासनमात्रै रहेको आदि ।
समग्रमा, व्याख्यात्मक घोषणासहित भएका कारण र हाम्रो विद्यमान शक्ति सन्तुलनलाई मध्यनजर गर्दा एमसीसी पारित गर्नुलाई नकारात्मक मान्न नसकिने ।