नुवाकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचनमा तालमेल गर्नुपर्दा गठबन्धनकै बीचमा गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रेस सेन्टर नुवाकोटले शनिबार विदुर नगरपालिकाको पीपलटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सकेसम्म आफ्नै तागतमा निर्वाचन लड्ने, तालमेल गर्नुपर्ने स्थितिमा गठबन्धन आबद्ध दलहरुबीच गर्ने सोच रहेको बताउनुभएको हो । 'जनतासँग सम्बन्ध बढाएर आफ्नै खुट्टामा उभिएर आफ्नै तागतमा जित्ने कुरालाई उच्च प्राथमिकता दिने भनेका छौं । तर निर्वाचन नजिक आउँदै जाँदा कसैसँग तालमेल गर्ने स्थिति बन्यो भने तालमेललाई पनि ध्यान दिने । तालमेलन गर्दा गठबन्धनकै बीचमा जोड गर्ने भन्ने छ ।' उहाँले भन्नुभयो ।
पछिल्लो केन्द्रीय समिति बैठकबाट पार्टीमा देखिएको समस्या हल भएको भन्नुहुँदै प्रचण्डले सम्पूर्णरुपमा स्थानीय तह निर्वाचनमा केन्द्रित रहेको बताउनुभयो । उहाँले प्रदेश भेला सकिने वित्तिकै जनताका घर घरमा गएर पार्टीलाई जिताउने अभियानमा लाग्नुपर्ने धारणा राख्नुभयो ।
'हाम्रो पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले २ महिने निर्वाचन केन्द्रित अभियानात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ । हामी सम्पूर्णरुपले अभियानमा छौं । प्रदेशस्तरको भेला सकाएर अब फिल्डमा जाने, जनताका घरघरमा । टोलटोलमा जाने र पार्टीलाई विजयी गराउने भन्ने योजनामा छौं,' उहाँले भन्नुभयो ।
सरकारले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन मिति तय गरिसकेको छ ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय नेताहरु नारायणकाजी श्रेष्ठ, हितमान शाक्य, हितबहादुर तामाङ, हितराज पाण्डे, नारायण दाहाल, संविधानसभा सदस्य राममाया बोगटी, वाग्मती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीलगायतको सहभागिता थियो ।