नुवाकोट । नुवाकोटको विदुर नगरपालिका ५ स्थित पिपलटारमा निर्माण गरिएको दिवंगत कम्युनिस्ट नेता पोष्टबहादुर बोगटीको सालिक अनावरण गरिएको छ ।
पोष्टबहादुर बोगटी स्मृति पार्कमा शनिबार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोगटीको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेता हितमान शाक्य, प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, हितराज पाण्डे, नेपाली कांग्रेसका नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र लोहनी, वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, प्रदेश सांसद हिरानाथ खतिवडा, माओवादी केन्द्रका नेता नारायण दाहाल, संविधानसभा सदस्य राममाया बोगटी, वाग्मती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीलगायत विभिन्न दलका नेता, कार्यकर्ता र सर्वसाधारणको बाक्लो सहभागीता रहेको छ ।
सालिक निर्माणका लागि प्रदेश मन्त्रालयबाट व्यवस्था भएको बजेट खर्च गर्न ०७७ चैत २३ गते स्थानीय भोजराज पनेरुको अध्यक्षतामा पोष्टबहादुर बोगटी स्मृति पार्क निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । त्यसका लागि आव २०७७/७८ को लागि वाग्मती प्रदेश आन्तरिक मामिला मन्त्रायबाट व्यवस्थापन भई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ४० लाख रुपैयाँ विनियोजन भएको थियो ।
सालिक निर्माणाधीन पोष्टबहादुर बोगटी स्मृतिपार्क निर्माण गरिएको हो । पार्कस्थलमा ३ कोठाको पोष्टबहादुर बोगटी स्मृति पुस्तकालय भवन, २ कोठाको अस्थायी निवास (देखभाल गर्ने कर्मचारीको आवासको लागि प्रयोग भएको) टिकटघर निर्माण भइसकेको प्रतिष्ठानका कार्यालय सचिव प्रभा बोगटीले जानकारी दिनुभयो ।
को हुनुहुन्छ पोष्टबहादुर बोगटी ?
२०१० साउन ३ गते साविक नुवाकोट जिल्ला तुप्चे गाविस वडा नं.–२ भित्रीनीटारमा आमा लेखकुमारी बोगटी र पिता भैरवबहादुर बोगटीको जेठा सन्तानको रुपमा जन्मनुभएको पोष्टबहादुर बोगटीको ६१ वर्षको उमेरमा २०७१ भदौ ३० गते बिहान हृदयघात र मस्तिष्कघातका कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
उहाँ एकीकृत नेकपा (माओवादी)को केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०२५ सालदेखि वाम राजनीतिको समर्थक भई २०३७ सालमा नेकपा चौमको जिल्ला सेक्रेटरी, २०४० सालमा नेकपा (मशाल) को नुवाकोट जिल्ला सेक्रेटरी भएर जिल्लाको नेतृत्व गर्नेदेखि, २०४३ सालमा वाग्मती क्षेत्रीय ब्यूरो सदस्यमा मनोनित भएको थियो । २०४५ सालदेखि (मशाल) को केन्द्रीय सदस्य, २०४८ सालमा ने.क.पा. (एकता केन्द्र) को एकता महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा चुनिनु भएको थियो ।
राष्ट्रिय एकता महाधिवेसनपछि उहाँ पार्टीको कर्णाली क्षेत्रीय ब्युरो इन्चार्ज हुँदै २०५३ सालबाट पश्चिम क्षेत्रीय बुरो इन्चार्ज, २०६१ सालबाट गण्डक, राप्ती, भेरी—कर्णाली र सेती—महाकाली क्षेत्रीय ब्युरो समेटेर बनेको सिंगो पश्चिम केन्द्रीय कमाण्डको ईन्चार्ज हुनुभएको थियो । २०५४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पोलिटब्युरो सदस्य, २०५८ सालमा स्थायी समिति सदस्य, २०६७ सालमा पार्टीको केन्द्रीय सचिव हुँदै २०६९ सालमा हेटौंडामा सम्पन्न पार्टीको एकताको राष्ट्रिय महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभएको थियो ।
२०७१ वैशाखमा सम्पन्न पार्टीको विराटनगर राष्ट्रिय सम्मेलनलगत्तै केन्द्रीय कार्यालय कोटेश्वर पेसिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा अत्यधिक मतद्वारा केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभयो । २०६४ सालको संविधानसभा निर्वाचनमा नुवाकोट जिल्ला साविक निर्वाचन क्षेत्र ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भई माओवादी संसदीय दलको सचेतक, प्रमुख सचेतक हुँदै उर्जा, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भएर मन्त्रालयको जिम्मेवारी पूरा गर्नुभयो ।
स्वअध्ययन, लगन, निष्ठा र अथक् मेहनत तथा विचार र व्यवहारको एकरुपताको कौशलताका धनी बोगटी सादा, सरल र सामूहिकतामा रमाउने व्यवहारिक नेता हुनुहुन्थ्यो । उहाँ आधारभूत श्रमजीवी सर्वहारा वर्ग, जातजाति, भाषाभाषी, क्षेत्र र लिङ्गका उत्पीडित जनसमुदायहरुको आर्थिक, सामाजिक, सांस्कृतिक जीवनस्तर उठाउन निरन्तर लागि पर्ने नेता हुनुहुन्थ्यो ।