सिन्धुलीमाढी । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज राजन दाहालले नव निर्मित पार्टी कार्यालय भवन सिन्धुलीवासी सबैका लागि भएको बताउनु भएको छ । गाउँबाट काम गर्न आएका तर होटलमा बस्न खाना समस्या पर्नेहरु उक्त भवनमा आएर बस्न सक्ने नेता दाहालले बताउनु भएको हो ।
उहाँले उक्त कार्यालय भवनले राजनीतिक र समाजिक दुवै काम गर्ने बताउनु भयो । ‘यो भवनले राजनीतिक र सामाजिक भूमिका निर्वाह गर्छ’ उहाँले भन्नुभयो, ‘जिल्लाभरीका जनताले काम परेर आउँदा काम सकेन भने जोसंग होटलमा बस्ने पैसा छैन, उहाँहरु आएर बस्न पाउनु हुन्छ’ । नेता दाहालले पैसा हुनेहरु पनि उक्त भवनमा आएर बस्न मिल्ने र जाने बेलामा केही सहयोग गरेर जान सकिने बताउनुभयो । हुनेले दिएर जाने र नहुनेले बसेर खाएर जाने व्यवस्था हुने उहाँको भनाइ थियो । प्रदेश सांसदसमेत रहनु भएका दाहालले उक्त भवन समाजवादी क्रान्तिको आधार क्षेत्र निर्माण गर्ने संकल्प भएको बताउन भयो । ‘यो हाम्रो क्रान्तिको प्रतिक हो, संकल्प र निष्ठा हो’ दाहालले भन्नुभयो, ‘हामी यस कार्यालय भवनबाट समाजवादी क्रान्तिको लक्ष पुरा गर्न लाग्ने छौं’ ।
दाहालले विभिन्न प्रतिष्ठानको नाममा राज्यको पैसा खर्च गरेर भवन बनाउने र पार्टी कार्यालय चलाउने गरेका भन्दै त्यो पनि भ्रष्टाचार भएको बताउनु भयो । आफूहरुले जनता, कार्यकर्ता र उद्देश्यप्रतिको विश्वासमा कार्यलय भवन बनाउन सफल भएको उहाँको भनाई थियो ।
चार तले भवनमा पहिलो तलामा बैठक हल र दोश्रोमा व्यावसायिक प्रयोजनमा प्रयोग गरिने नेता दाहालले जानकारी दिनुभयो । त्यस्तै, तेश्रोमा जवस, मोर्चाको कार्यालय र चौथो तलामा पार्टी कार्यालय रहने उहाँले बताउनु भयो । यसका साथै भवनमा पाहुन घर र सामूहिक भान्छाको पनि व्यवस्था हुने दाहालले जानकारी दिनु भयो ।
शनिबार माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको कार्यालय भवन निर्माणको लागि हालसम्म एक करोड ८० लाख रुपैयाँ खर्च भएको दाहालले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय निर्माणका लागि एक हजार दाताहरुले सहयोग गरेका छन् ।
चार तले नवनिर्मित भवनमा १४ वटा कोठा, एउटा हल र एक किचन कोठा रहेका छन् । उक्त भवन निर्माण ६ महिनाअघि निर्माण थालिएको थियो । इञ्चार्च दाहालले भवन निर्माण सकिएपछि सबै खर्च विवरण सार्वजनिक गरिने पनि बताउनुभएको छ ।