मकवानपुर । संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका नेता जगदीशश्वर नरसिंह केसीले कांग्रेसजन टुकी बालेर खोज्नुपर्छ भन्ने केपी ओलीको एमाले टुकीमा बालेर खोज्नुपर्ने दिन आएको बताउनुभएको छ ।
वाग्मती प्रदेश कार्यसमितिको तेस्रो बैठकलाई सोमबार हेटौंडामा सम्बोधन गर्नुहुँदै नेता केसीले एमालेलाई अबको निर्वाचनपछि टुकी बालेर खोज्नुपर्ने बताउनुभएको हो । 'तीन वर्षअघि केपी ओली प्रधानमन्त्री हुँदा कुनै ठाउँमा भाषण गर्दा उनले भने अब कांग्रेसजन टुकी बालेर खोज्नुपर्छ,' उहाँले थप्नुभयो, 'आज त्यही केपी ओली टुकी बालेर एमाले खोज्नुपर्ने दिन आयो । समयले आज त्यहाँसम्म अगाडि बढाएको छ ।'
अहिले देशभर कांग्रेसप्रति जनताको आशा, भरोषा र विश्वास बढेको दाबी गर्नुहुँदै नेता केसीले कांग्रेसबाट देशको निर्माण, संविधानलाई संरक्षण गर्न सक्छ भन्ने कुरामा आमजनतामा विश्ववा जागेको बताउनुभयो । जनताको विश्वास र आशालाई लिएर कांग्रेसले अब तीनै तहको सरकार निर्माण गर्नुपर्ने र त्यसका लागि केन्द्रमा कांग्रेसका शीर्षस्थ नेताहरु एक भएको सन्देश दिनसकेमा त्यसले आउने निर्वाचनमा आफूहरुलाई फाइदा गर्ने उहाँको भनाइ थियो ।
सस्तो लोकप्रियताका लागि एमाले अध्यक्ष ओलीको प्रधानमन्त्रीत्व कालमा रेल ल्याउने, घरघरमा ग्यास पाइप जोड्ने लगायत भाषण गरे पनि अहिले कुनै काम नभएको भन्दै उहाँले आश्चर्य व्यक्त गरन्भुयो । 'सस्तो लोकप्रियताका लागि केपी ओलीले धेरै चिजहरु बोले । रेलमार्ग ल्याएँ । अब तपाईंले ग्यासको सिलिन्डर काँधमा हाल्ने दिन गयो । सिलिन्डर फालिदिनु । घरघरमा, किचन किचनमा ग्यास पाइप जोडिन्छ भन्थे,' उहाँले प्रश्न गर्दै भन्नुभयो, 'आज कहाँ छन् केपी ओली ? कहाँ जोडियो ग्यासका पाइप ?'
ओलीको सरकारका पालामा ठूला ठूला भ्रष्टाचार काण्ड बाहिरिएको उल्लेख गर्नुहुँदै नेता केसीले कांग्रेसको पालामा त्यस्ता काण्ड कुनै नभएको बताउनुभयो । 'केपी ओलीका पालामा हरेक दिन, हरेक हप्ता, हरेक महिनाजसो अर्बौं भ्रष्टाचारको काण्डहरु उठे । तर आज ८/९ महिना भयो कांग्रेसको सरकार बनेको । त्यत्ति ठूलो भ्रष्टाचारका कुरा त उठेको छैन नि,' उहाँले भन्नुभयो, 'नेपाली कांग्रेस यो देशको जिम्मेवार पार्टी हो । मुलुकको विकासका लागि भ्रष्टाचारलाई नियन्त्रण नगर्ने हो भने देश समाप्तिको दिशातिर जान्छ । त्यसैले भ्रष्टाचार नियन्त्रण पहिलो आवश्यकता हो । कांग्रेसको प्राथमिकता त्यसमा रहन्छ ।'