भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले चुनावी गठबन्धन बनाए पनि आफ्नो पार्टीलाई कुनै असर नपर्ने दाबी गर्नुभएको छ । भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा उहाँले एमाले क्वीन्टलको ढक हो भन्नुहुँदै एक/एक किलोको दलले गठबन्धन गरेर केही नहुने बताउनुभएको हो ।
'एउटा तराजुमा एक/एक किलोका ५ ढक राख्ने र अर्कोतिर एक क्वीन्टलको ढक राखिदिए के हुन्छ ?,' उहाँले प्रश्न गर्दै भन्नुभयो, 'एमाले क्वीन्टलको ढक हो, किलो/किलो मिलाएर केही हुँदैन । गठबन्धन गरेर पनि एमालेलाई हराउँछु भन्नु नचिताए हुन्छ । नसोचेहुन्छ ।'
कांग्रेस, माओवादीले गठबन्धन नगरी एमालेलाई पराजित गर्न नसक्ने बुझे पनि गठबन्धन गरेर पनि नसकिने रहेछ भन्नु बुझ्न बाँकी रहेको उहाँको भनाइ थियो । उहाँले आगामी निर्वाचनमा गठबन्धन गरेकाहरुलाई पनि हराएर देखाउन नेता, कार्यकर्तालाई निर्दशन दिनुभयो ।
गठबन्धन गर्छु भनेर मात्रै नहुने उल्लेख गर्दै उहाँले लोभीपापीहरु भएका पार्टीहरुमा गठबन्धन गर्न सजिलो नभएको बताउनुभयो । भागबन्डा मिलाउन गाह्रो पर्ला भनेर निर्वाचन आयोगसँग मिलेमतो गरेर मनोनयन दर्ताको समय दुई दिन बनाएको ओलीको आरोप थियो ।
सत्ता प्रमुख साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले मंगलबार नै स्थानीय आवश्यकताको आधारमा स्थानीय तह चुनावमा तालमेल गर्ने निर्णय गरिसकेको छ । सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले गठबन्धन गराएर चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । एमाले अध्यक्ष प्रधानमन्त्री हुँदा दुई पटकसम्म प्रतिनिधिसभा विघटन गराएपछि त्यसको जगमा बनेको वाम लोकतान्त्रिक गठबन्धनमा रहेका दलहरुले ओली प्रतिगमनकारी कदम चालिरहने भएकाले त्यसविरुद्ध लाग्नुपर्ने मत राख्दै आएका छन् ।