नुवाकोट । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङले पार्टीको आन्तरिक विषयहरुलाई आम सार्वजनिक बहसको प्रक्रियाबाट अघि बढाइएको भन्दै त्यस कार्य तुरुन्त अन्त्य गर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।
जिल्लाका केही जिम्मेवार नेता, कार्यकर्ताले आफूमाथि अशिष्ट र अशोभनीय ढंगले गालीगलौज गरेपछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्नुहुँदै नेता तामाङले आन्तरिक दोहोरो बहस गरी पार्टीविरोधी गतिविधिहरु रुचाउने अवाञ्छित तत्वहरुको ध्वंसात्मक चलखेल नबढाउन आग्रह गर्नुभएको हो ।
पार्टीको विधि, प्रक्रियाविपरीत क्रियाप्रतिक्रिया, टिप्पणी र दोहोरो बहसहरुले पार्टी पंक्ति र आम समर्थक जनसमुदायमा समेत निराशा तथा अन्योलता बढाएको संघीय सांसद रहनुभएका तामाङले उल्लेख गर्नुभएको छ ।
पूर्वमन्त्री तामाङले कुनै व्यक्तिमाथि विषय वा प्रसंगमा विमति भए सम्बन्धित व्यक्तिसँग छलफल माग गर्ने अधिकार कम्प्युनिस्ट पार्टीभित्र सुरक्षित रहेको समेत प्रस्ट पार्नुभएको छ । 'कोही व्यक्तिलाई, कोही व्यक्ति र उसले गरेको कार्य एवम् उसको कार्यशैलीप्रति चित्त प्रसन्न नहुन सक्छ । यदि कुनै विषय वा प्रसंगउपर विमति छ र त्यस बारे छलफल तथा टिप्पणीको आवश्यक्ता महसुस भएको छ भने सम्बन्धित समिति वा समिति पनि नहुने व्यक्तिहरुको हकमा सम्बन्धित व्यक्तिसँग छलफलको माग गर्न पाउने अधिकार कम्युनिस्ट पार्टीको सदस्यलाई सधैंभरि सुरक्षित छ यो कम्युनिस्ट पार्टीको आम प्रचलित मान्यता पनि हो ।'
नेता तामाङले छलफलमा सहभागी गराउनुपर्ने महसुस भएका सम्बन्धित व्यक्तिहरुसँग आन्तरिक छलफलको प्रक्रिया छिट्टै आयोजना हुने पनि उहाँले जानकारी गराउनु भएको छ । उहाँले धैर्य गरेमा पार्टीले सबैलाई न्याय दिने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
जिल्लाका नेता, कार्यकर्ताहरु तोयानाथ थपलिया, मुकुन्द पौडेल, गोकर्ण न्यौपानेलगायतले बिहीबार सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट हितबहादुर तामाङमाथि असिस्ट र अशोभनीय ढंगले गालीगलौज गर्नुभएको थियो । त्यसपछि सामाजिक सञ्जालमा माओवादी नेता, कार्यकर्ताले केही व्यक्तिले निर्वाचनको बेला अराजक शैली देखाएको भन्दै प्रतिवाद गरिरहेका छन् ।