नुवाकोट । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति नुवाकोटका संयोजक पुष्प लामिछानेले पार्टीमा अनुशासन उल्लंघन गर्ने जोकोहीलाई कारबाही गर्ने बताउनुभएको छ ।
ग्लोबल मिडियासँग कुराकानी गर्नुहुँदै संयोजक लामिछानेले पार्टीमा कुनै विवाद नरहेको भन्दै केही नेता, कार्यकर्ताले नेतृत्वको विरुद्ध सामाजिक सञ्जालमा बोल्ने र लेख्ने काम भएकोले त्यसलाई पार्टीले छलफल गरेर हल गरिने बताउनुभयो । 'आन्तरिक विवाद जसरी प्रचारमा आएको छ । विवाद पार्टीमा छैन । तर पार्टीमा रहने, अनुशासनमा नरहने छुट कसैलाई छैन,' उहाँले भन्नुभयो, ' जथाभावी बोल्ने, लेखेर अनुशासन उल्लंघन गर्नेहरुलाई कारबाही हुन्छ ।'
कारबाही प्रक्रियाको चरण हुने भन्नुहुँदै संयोजक लामिछानेले पार्टी अनुशासनविपरीत गतिविधि गरिरहेकाहरुलाई सच्चिने मौका दिइने पनि बताउनुभयो । 'कारबाही भन्नेबित्तिकै पार्टीबाट निकालिहाल्ने भन्ने हुँदैन । स्पष्टीकरण सोध्ने, फेरि यस्तो गतिविधि नगर्न चेतावनी दिने, गल्ती कमजोरी महसुस गराउनु र रुपान्तरण गराउने पनि हुन्छ,' उहाँले भन्नुभयो ।
जिल्लाका नेता, कार्यकर्ताहरु तोयानाथ थपलिया, मुकुन्द पौडेल, गोकर्ण न्यौपानेलगायतले बिहीबार सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङमाथि असिस्ट र अशोभनीय ढंगले गालीगलौज गर्नुभएको थियो ।
आफूमाथि नियोजित ढंगले आक्षेप लगाइएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङले पनि शनिबार धारणा सार्वजनिक गर्नुहुँदै पार्टीको आन्तरिक विषयहरुलाई आम सार्वजनिक बहसको प्रक्रियाबाट अघि नबढाउन र त्यस्ता कार्य तुरुन्त बन्द गर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।
नेता तामाङले आन्तरिक दोहोरो बहस गरी पार्टीविरोधी गतिविधिहरु रुचाउने अवाञ्छित तत्वहरुको ध्वंसात्मक चलखेल नबढाउन आग्रह पनि गर्नुभएको छ । नेता तामाङले छलफलमा सहभागी गराउनुपर्ने महसुस भएका सम्बन्धित व्यक्तिहरुसँग आन्तरिक छलफलको प्रक्रिया छिट्टै आयोजना हुने पनि जानकारी गराउनु भएको छ । उहाँले धैर्य गरेमा पार्टीले सबैलाई न्याय दिने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।