नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका पूर्वउपसभापति यमबहादुर थापा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
बिहीबार बिहान एक कार्यक्रमबीच थापा र नेपाली कांग्रेस पञ्चकन्याका नेता, कांग्रेस क्षेत्रीय प्रतिनिधि पञ्चकन्या-१ निवासी भगवान पौडेललाई एमाले जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश राज्यमन्त्री बद्री मैनालीले पार्टीमा स्वागत गर्नुभएको हो । नवप्रवेशी थापा तत्कालीन भद्रुटार गाविसका निर्वाचित अध्यक्ष हुनुहुन्छ भने कांग्रेस भद्रुटारका गाउँ सभापति बनिसक्नुभएको थियो ।
'नेपाली कांग्रेस विधि, विधानमा चलेन, बीपीको सिद्धान्त छोड्यो । पार्टीभित्र लामो समयदेखि दु:ख, मिहिनेत गरेकाहरु र संगठनको मूल्य, मान्यताको काम भएन । पैसावालाहरु हाबी भए, त्यसैले पार्टी छोडेँ,' नेता थापाले ग्लोबल मिडियासँग भन्नुभयो ।
पञ्चकन्या गाउँपालिका-५ निवासी नेता थापा मुलुकमा बहुदलीय व्यवस्था आउनुभन्दा अगाडिदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्छ ।
पार्टीमा तल्ला तहका नेता, कार्यकर्ता अनुशासित हुनुपर्ने र नेताहरुले अनुशासन पालना गर्नु नपर्ने स्थिति बनेको पनि उहाँले गुनासो गर्नुभयो । नेता थापाले एमालेभित्र झगडा र बेमेल हुनसक्छ तर नेतृत्व आफ्नो अडानमा र विधि, विधानमा पार्टी चलाउन खोजेको देखेर सोही पार्टी रोजेको प्रस्ट्याउनुभयो ।

एमाले नेता रामनाथ खनालले नेता थापा र पौडेल पार्टी प्रवेशको पुष्टि गर्नुभएको छ ।
यस समाचारमा असावधानीवस उपसभापति यमबहादुर थापा हुनुपर्नेमा अन्यथा हुन गएकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ । - सम्पादक