काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बिहीबार खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधानसभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई स्वागत गर्नुहुँदै अध्यक्ष पुष्पकमल दााल प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्नुभयो । उहाँले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाउनुभयो ।
पार्टीमा अन्तरविरोध भए पनि पार्टी विभाजन गल्ती भएको बताउँदै जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा उहाँको जोड थियो । जनयुद्धकालदेखिका कतिपय प्रशंगको चर्चा गर्नुहुँदै प्रचण्डले यो ध्रुवीकरणले ठूलो सन्देश दिएको बताउँदै समाजवादी क्रान्तिका लागि अघि बढ्न परिवर्तकामी सबै कम्युनिष्टहरु ध्रुवीकरण हुन अपिल गर्नुभयो ।
अधुरो क्रान्ति पुरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको रिहाईका लागि आफूले पहल गर्ने समेत उहाँले बताउनुभयो । विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको भन्दै नवप्रवेशीहरुले माओवादी आन्दोलनको केन्द्रका रुपमा रहेको प्रचण्ड नेतृत्वको माओवादीमा समाहित हुने निर्णय गरेको बताउनुभयो । नवप्रवेशीहरुका तर्फबाट बोल्दै नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्धकै उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताउनुभयो ।
“हामी नेपाली जनयुद्धलाई अगाडि बढाउन क्रममा जसरी लामबद्ध भएर अगाडि गयौं, पछिल्ला दिनहरुमा हाम्रा अभियानहरु क्षतविक्षत अवस्थामा पुगेको अनुभूति गरेका छौं, प्रतिक्रियावादीहरुले सिँगो माओवादी आन्दोलनलाई कमजोर बनाउन धावा बोलिरहेका छन्,” उहाँले भन्नुभयो, “अब पूर्व माओवादीहरु माओवादी धारामा केन्द्रित भएर प्रतिक्रियावादीविरुद्ध चट्टान भएर खडा हुनुपर्छ ।”
माओवादी आन्दोलनमा देखा परेका वैचारिक तथा संगठनात्मक विवादलाई पार्टी विभाजन गर्ने तहसम्म पुर्याउनु गलत भएको उहाँले बताउनुभयो । “पार्टीमा वैचारिक, कार्यशैली र कार्यक्रमिक अन्तरविरोध हुनु स्वाभाविकै भए पनि आन्दोलन नै क्षतविक्षत हुने काम भयो । पार्टीलाई अलग थलग बनाएर विभिन्न बहानामा, विदेशी शक्ति केन्द्रबाट परिचालिन भएर आन्दोलनलाई क्षतविक्षत बनाइयो,” उहाँले भन्नुभयो, “त्यसैले हामीले पूर्वमाओवादी एक भएर अघि बढ्नैपर्छ भन्ने अनुभूति गरेर ध्रुवीकरणको प्रक्रियामा अघि बढेका हौं । जनयुद्धलाई नस्वीकार्ने एमाले जस्तो शक्तिसँग गठबन्धनको जुन षड्यन्त्र विप्लवहरुले गरेका छन्, त्यसबाट कतै विदेशी शक्तिका विरुद्ध आफ्नै इतिहास कुल्चिने काम त भइरहेको छैन भन्ने शंका भएको छ ।”
उहाँले अधुरो क्रान्ति पुरा गर्ने नाममा विप्लव पार्टीले सञ्चालन गरेको एकीकृत जनक्रान्तिमा १२ जनाको सहादत भएकोले उहाँहरुलाई सहिद घोषणा गर्न पहल गर्नुपर्ने बताउनुभयो । सहिद र आश्रित परिवारलाई राहत र क्षतिपूर्तिका लागि पहल गर्ने र जेलबन्दीका रुपमा रहेका ११३ जनालाई रिहाईका लागि समेत पहल गर्न उहाँले अनुरोध गर्नुभयो ।
विप्लव समूह परित्याग गरी ध्रुबीकरणमा समाहित हुनेहरूको नामावली :
- श्रवण,
- मुक्ति,
- राप्ती,
- पुकार, पूर्व जिल्ला इन्चार्च तथा व्यूरो सदस्य
- पर्वत, घाइते अपांग योद्धा संघ
- आवश्यकता ,पूर्व ब्यूरो सदस्य तथा संविधानसभा सदस्य
- क्षितिज, पूर्व ब्यूरो सदस्य
- बिहानी, पूर्व बटालियन कमाण्डर
- करण, पूर्व कम्पनी कमाण्डर
- सोपान, पूर्व कम्पनी कामाण्डर
- रविन, पूर्व कम्पनी कमाण्डर
- जनक सिंह, वकिल
- दोभान, पूर्व ब्यूरो सदस्य
- मोहित, पूर्व कम्पनी कमाण्डर
- कृष्ण बिक पूर्व अध्यक्ष दलित मोर्चा
- रण ब. भण्डारी शिक्षक संगठनक
- दीपक भण्डारी पूर्व के.स अखिल क्रान्तिकारी
- तुफान पूर्व कम्पनी भिसी
- भक्त वयक जिल्ला सदस्य पार्टी
- संगम पूर्व कम्पनी भिसि
- राजकुमार पूर्व कम्पनी भिसि
- विष्णु तिमिल्सिना पूर्व प्लाटुन कमाण्डर
- सर्वजित रावल पूर्व प्लाटुन कमाण्डर
- ममता बोहरासहित कैलालीबाट १३ जना जिल्ला कमिटि सदस्य
- ईश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राज बहादुर बुढा
- बुद्ध गुरुङ पूर्व जिल्ला सदस्य धादिंग
- चेरोंग तामांग रसुवा पूर्व जिल्ला सदस्इ
- देव तामाङ विशेष फोर्स सदस्य
- ज्ञानु बम नेकपा माओवादी केन्द्र समाजवादी पोलिटब्यूरो सदस्य
- हरि नेपाली केन्द्रीय सदस्य