नुवाकोट । आसन्न स्थानीय तह निर्वाचनका लागि नुवाकोट सूर्यगढी गाउँपालिका अध्यक्षको उम्मेदवारमा नेकपा (माओवादी केन्द्र) बाट इमानसिं तामाङ चयन हुनुभएको छ ।
पालिका पार्टी अध्यक्ष रहनुभएका तामाङलाई आइतबार उम्मेदवार बनाउने टुंगो लगाएको सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । उम्मेदवार १ नम्बर वडाध्यक्ष समेत हुनुहुन्छ ।
उहाँका अनुसार उपाध्यक्षमा आकांक्षी धेरै भएपछि प्रदेश कमिटीसमक्ष सिफारिस गरिएको छ । उपाध्यक्ष उम्मेदवार दाबी गर्नेहरुमा भैरवबहादुर अधिकारी, वर्तमान ५ नम्बर वडाध्यक्ष गुरुप्रसाद अधिकारी, हरिशरण भट्टराई, दुर्गा खतिवडा, कोपिला गुरुङ हुनुहुन्छ ।
गत स्थानीय तहको निर्वाचनमा उक्त पालिकामा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेको थियो । दोस्रो पोजिसन ल्याएको माओवादी केन्द्रले यसपटक जित्ने सम्भावना प्रबल रहेको सचिव अधिकारीले दाबी गर्नुभयो । ५ वटा वडा रहेको सूर्यगढी गाउँपालिकामध्ये दुई वडा माओवादी केन्द्रले जितेको थियो ।
माओवादी नुवाकोटले विदुर नगरपालिकाको मेयर पदको उम्मेदवारमा प्रभा बोगटी, ककनी गाउँपालिका अध्यक्षमा सुमन तामाङ (सज्जन) र उपाध्यक्षमा मिठुमाया तामाङलाई उम्मेदवार चयन गरिसकेको छ । दुप्चेश्वर गाउँपालिकामा समेत लगभग टुंगो लागेको जनाइएको छ । पार्टी एक्लै लड्दा पूर्वशिक्षक शंकर थापा र गठबन्धन हुँदा अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी लालबहादुर तामाङलाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सार्ने समझदारी भएको दुप्चेश्वर माओवादीले जनाएको छ ।
यही वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनमा दलहरुले उम्मेदवार चयनलाई तिव्रता दिइरहेको छ । १२ स्थानीय तह रहेको नुवाकोटमा एमालेले अघि अघि र कांग्रेस र माओवादीले पछि पछि उम्मेदवार चयन प्रक्रिया अगाडि बढाएका छन् । चुनावी गठबन्धन हुने र गराउने प्रयास कारण उम्मेदवार चयनमा ढिलासुस्ती भइरहेको कांग्रेस-माओवादी नेताहरुले बताएका छन् ।