मकवानपुर । आगामी निर्वाचनमा पुनः उम्मेदवार हुने भएपछि हेटौंडा उपमहानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले राजीनामा दिन थालेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि हेटौंडा उपमहानगरपालिकाका निर्वाचित वडा अध्यक्षहरू र वडा सदस्यहरुले राजीनामा दिएका हुन् । पुनः उम्मेदवार बन्नका लागि निर्वाचन आयोगले जनप्रतिनिधिहरुले अनिवार्य रुपमा राजीनामा दिनुपर्ने कार्यविधि बनाएसँगै हेटौंडा उपमहानगरपालिकाका निर्वाचित वडाअध्यक्ष र सदस्यहरुले राजीनामा दिएका हुन् ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका हेटौंडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । हेटौंडा उपमहानगरपालिका ८ जना वडा अध्यक्षसहित ३६ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबार उपमहानगरपालिकामा राजीनामा पत्र बुझाएका हुन् ।
२०७४ सालको निर्वाचनमा हेटौंडा–२, ३, ४, ७, ९ र १८ का वडा अध्यक्षहरू एमालेबाट निर्वाचित भएका थिए भने आगामी निर्वाचनमा उम्मेदवार बन्नका लागि उनीहरुको नाम सिफारिसमा परेको छ । उनीहरु नै उम्मेदवार हुनेबारे भने निर्णय भइसकेको छैन ।
हेटौैंडा–२ का राउत, हेटौंडा–४ का सिग्देल, हेटौंडा–७ का थापा र हेटौंडा–१८ का बानियाँलाई एमालेले पुनः वडा अध्यक्ष पदमा उठाउने सर्वसम्मत निर्णय गरेर जिल्ला कमिटीमा नाम सिफारिस गरेको हो भने हेटौंडा–३ मा वडा अध्यक्ष पुडासैनीसहित परेशमान विडारी र कल्पना लामाको नाम सिफारिसमा परेको छ । हेटौंडा–९ मा वडा अध्यक्ष भण्डारीसहित नरेन्द्र भण्डारी र गोमा शाहको नाम सिफारिसमा परेको छ ।
हेटौंडा–१२ र १४ का वडा अध्यक्ष घलान र खड्का २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । वडा अध्यक्ष खड्का हाल एमालेमा आवद्ध छन् भने घलान माओवादी केन्द्रमा नै छन् । घलान र खड्का दुवैको नाम पुनः वडा अध्यक्षमा सर्वसम्मत सिफारिसमा परेको छ । उनीहरुको उम्मेदवारीको अन्तिम निर्णय भने भइसकेको छैन ।
यसैगरी हेटौंडा उपमहानगरकै विभिन्न वडाका सदस्यहरु २७ जनाले पनि राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत भोली र पर्सी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।