काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र कुनै राजनीतिक दस्ताबेज नभएको बताउनुभएको छ । मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसले घोषणापत्रमा गालीगलौजमात्रै समेटेको बताउनुभयो ।
कांग्रेसको घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण नभएको उल्लेख गर्दै त्यो कुनै राजनीतिक दस्ताबेज नै होइन, पागलहरूको प्रलाप भएको बताउनुभयो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ । कांग्रेसको घोषणापत्रमा राजनीतिक कुरा नै नभएको बताउनुभयो । कांग्रेसको नेतृत्व र पार्टी नै निष्प्रभावी भएको बताउनु भयो । कांग्रेसले घोषणापत्रमा विकासका कुरा नै नगरेको पनि ओलीले आरोप लगाउनुभयो ।
लोकतन्त्रका लागि कांग्रेसको आफूलाई माया लाग्ने गरेको पनि उहाँको भनाई छ । उहाँले अगाडि भन्नुभयो कुन रसातलमा पुग्यो कांग्रेस कठैबरी माया लाग्छ कांग्रेसको, दया लाग्छ कांग्रेसको, कहाँ पुग्यो विचरा कांग्रेस लोकतन्त्रका लागि मात्रै मैले कांग्रेसप्रति दया देखाएको हो । नत्र भने हामीलाई त राम्रो छ, दया देखाइराख्नुपर्दैन, नेपाली कांग्रेसका सभापति मेरो पुरानो मित्र हुनुहुन्छ । उहाँले यस्तै घोषणापत्र निकाल्नुहुन्छ,यस्तै काम गर्नुहुन्छ, यस्तै कुरा गर्नुहुन्छ भने त हामीलाई सजिलै हुन्छ । नेपाली कांग्रेसको नेतृत्व यस्तो भइरहे त हामीलाई सजिलै हुन्छ । यस्तै सरकार हुने हो भने त हामीलाई सजिलो हुन्छ, गतिलो नेतृत्व हुने हो भने त हामीले अझ मिहेनत गर्नुपर्छ ।
नेकपा माओवादी केन्द्रले भन्ने घोषणापत्र नै सार्वजनिक नगरेको बताउनुभयो । कांग्रेसले निकालेकै छ भनेर माओवादीले घोषणापत्र ननिकालेको उहाँको भनाइ थियो । माओवादीले भने केन्द्रबाट अपिल जारी गर्दै सम्बन्धित स्थानीय तहलाई नै स्थानीय आवश्यकताअनुसार घोषणापत्र बनाउन निर्देशन दिएको छ ।