नुवाकोट । नुवाकोटमा नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीचको चुनावी गठबन्धनमा खटपट देखिएको छ । चुनावी तालमेलको सहमतिविपरीत उम्मेदवारी दिएका नेताहरुले मनोनयन पत्र फिर्ता नलिएपछि गठबन्धनमा विवाद सिर्जना भएको हो । एकीकृत समाजवादीले पञ्चकन्यामा उम्मेदवारी दिएर सहमति तोडेको माओवादीले आरोप लगाएको छ । ककनीमा उपाध्यक्ष दिने सहमति पालना नभएको भन्दै एकीकृत समाजवादीका नेताहरु रुष्ट देखिन्छन् ।
पञ्चकन्या गाउँपालिकामा सहमतिविपरीत उम्मेदवारी दिएका पालिका अध्यक्ष श्रीकृष्ण खतिवडा, उपाध्यक्ष सरिता पण्डित थापालगायत ८ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिनुभएको छ । तर ५ नम्बर वडाध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएका गणेश थापा र केही सदस्यले 'हाइकमान्ड'को निर्देशन समेत लतार्दै मनोनयन फिर्ता नलिँदा समस्या पैदा हुने देखिएको माओवादी नेताहरुले बताएका छन् । माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछानेले कहाँ-कहाँ सहमति पालना नभएको भन्ने बुझ्ने काम भइरहेको बताउनुभयो । उहाँले सहमति तोड्यो भन्न नमिल्ने तर कतिपय पालिकामा समस्या भने निम्तिएको बताउनुभयो ।
एकीकृत समाजवादीका जिल्ला इञ्चार्ज राजेन्द्र लोहनीले वडा अध्यक्षमा कुनै तालमेलको सहमति नभएकोले दाबी गर्नुहुँदै पञ्चकन्या ५ मा उम्मेदवारी कायम राखिएको बताउनुभयो । उहाँले एकीकृत समाजवादी सहमति पालनामा इमानदार र प्रतिबद्ध रहेको भए पनि माओवादीले ककनीमा उपाध्यक्ष नदिएर सहमति तोडेको आरोप लगाउनुभयो । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले दिएको मनोनयन दर्ताको अन्तिम दिन वैशाख १२ गते माओवादी र एकीकृत समाजवादीबीच जिल्लाका पञ्चकन्या, शिवपुरी, सूर्यगढी, दुप्चेश्वरलगायत ९ पालिकामा तालमेलको सहमति बनेको थियो ।
नेकपा एमालेबाट विभाजित बनेको एकीकृत समाजवादीको जनाधार कमजोर रहे पनि माओवादीले तालमेलमा शिवपुरी र सूर्यगढीको प्रमुखमा उक्त पार्टीलाई अध्यक्ष दिने र अन्य पालिका प्रमुख र केही उपप्रमुखसमेत आफूले लिने सहमतिसहित गठबन्धन गर्न राजी भएको थियो । कुनै पदमा दोहोरो उम्मेदवारी नदिने सहमतिको उल्लंघन गर्दै उम्मेदवारी दिएका पञ्चकन्या अध्यक्षका उम्मेदवार श्री कृष्ण खतिवडा, उपाध्यक्षका उम्मेदवार सरिता थापा, वडा न.३को वडा अध्यक्ष उम्मेदवार सुरेश थापा, वडा नं ३ को महिला वडा सदस्य उम्मेदवार मैयाकुमारी थापा, वडा नं.३को वडा सदस्य उम्मेदवार कृष्णबहादुर कार्की, वडा नम्बर २ को वडा सदस्य उम्मेदवार हेमबहादुर थापा, वडा नम्बर ४ को वडा अध्यक्ष उम्मेदवार श्रीकृष्ण अधिकारी, वडा नम्बर ५ को वडा सदस्य उम्मेदवार सनकबहादुर लोहनीले उम्मेदवारी फिर्ता लिनुभएको हो । तर ५ नम्बरका वडाध्यक्ष र सदस्यहरु उम्मेदवारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्देशनसमेत नमानेर उम्मेदवारी फिर्ता नलिँदा शिवपुरी र सूर्यगढीको निर्वाचन परिणाममा धक्का पुग्न सक्ने आशंका गरिएको छ । 'पार्टीका हाइकमान्डबाट समेत कडा निर्देशन भएको अवस्थामा पनि ५ नम्बर वडाका केही उम्मेदवारले मनोनयन नाम फिर्ता नलिनुका कारणले समाजवादीभित्रको अराजकता एवं अनुशासनहिनता प्रदर्शन भएको छ भने त्यसकै कारणले करिब जित सुनिश्चित रहेको सूर्यगढी र शिवपुरीका अध्यक्षका उम्मेदवारहरुलाई समेत धक्का पुग्न सक्छ,' एक माओवादी नेताले भने,' यो व्यवहारले माओवादी कार्यकर्ता तथा मतदाताहरुलाई सशंकित तुल्याएको छ । राजनीतिक बेइमानीका कारण आशंका उत्पन्न गराएको छ ।' सहमतिपूर्ण पालना नभएकोले साझा उम्मेदवारको निर्वाचन परिणाममा धक्का पुग्ने शंका गरिएको छ । तर एकीकृत समाजवादीका जिल्ला इञ्चार्ज लोहनीले केही पालिकामा विवाद भए पनि जिल्लामै गठबन्धन नतोडिएको र निर्वाचन परिणाममा केही फरक नपर्ने बताउनुहुन्छ ।
दुई दलीय गठबन्धन तर्फबाट शिवपुरी गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका पदम उप्रेती र सूर्यगढीमा ध्रुव अधिकारी उम्मेदवार बन्नुभएको छ । एमालेले गत निर्वाचनमा क्षेत्र नम्बर १ मा कुनै पनि पालिकामा जित्न सकेको थिएन । नेपाली कांग्रेसले ५ र माओवादी केन्द्रले २ वटा पालिकामा विजयी हासिल गरेका थिए । ती सबै पालिकाहरुमा कांग्रेस र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने अवस्थाका कारण दुई दलहरुबीच गठबन्धन हुन सकेन । नुवाकोटमा पाँच दलीय गठबन्धनले जिल्लाका १२ वटै पालिकाहरुमा सर्लक्कै तालमेल नभएपछि २०७४ मा एमालेले जितेका पालिकाहरु विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तार्केश्वर गाउँपालिकामा भने माओवादी केन्द्र र कांग्रेसबीच प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष तालमेल भएको छ ।
दुई नम्बर निर्वाचन क्षेत्रमा पर्ने यी पालिकामध्ये विदुर र तार्केश्वर प्रमुखमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुखका उम्मेदवार उठाएका छन् । त्यस्तै बेलकोटगढीमा भने माओवादीको प्रमुख र कांग्रेस उम्मेदवार उपप्रमुखमा रहेका छन् । विदुर र तार्केश्वरका वडाहरुमा दुई दलबीच तालमेल भएको छ भने बेलकोटगढीका सबै वडाहरुमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति छ ।