नुवाकोट । सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट विदुर नगरपालिकामा साझा उपमेयरकी उम्मेदवार प्रभा बोगटीले निर्वाचनमा जितपछि प्रभावकारी ढंगले काम गर्ने बताउनुभएको छ ।
घरदैलो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शनिबार उपमेयरका उम्मेदवार बोगटीले गठबन्धन दलको टिमले नयाँ सोचका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 'गठबन्धन दलको टिमले नयाँ सोच लिएको छ । नगरमा नयाँ सोचका साथ काम गर्नेछौं । जनताका आधारभूत आवश्यकताहरु जुन स्थानीय तहमार्फत सरकारले ढोका उघार्दा जनताले पाउनुपर्ने सेवा सुविधाहरु छन् । त्यसलाई प्रभावकारी ढंगले हामी काम गर्नेछौं,' उहाँले भन्नुभयो ।
यसअघिको नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिले साझा व्यवहार देखाउन नसकेको भन्नुहुँदै बोगटीले आफ्नो टिमले निष्पक्ष र पारदर्शी भइ काम गर्ने दाबी गर्नुभयो । 'यसअघिका नेतृत्वको विषयमा निष्पक्ष र सन्तुलित व्यवहारको कुरा उठिरहेको छ । जनताले महसुस गरिरहनुभएको छ । कुनै राजनीतिक दलबाट उम्मेदवार बनेर निर्वाचित भएपछि हामी साझा बन्न सक्नुपर्छ । यसअघिको नेतृत्वले साझा भएर काम गर्न सकेन,' उहाँले थप्नुभयो, 'नगरको नेतृत्वमा पुग्दै गर्दाखेरी हाम्रो सोच, कार्यशैली, निष्पक्ष हुन्छ । पारदर्शी हुन्छ । सबैतिर सन्तुलित ढंगले काम गरेर जनताको प्रतिनिधित्व गरेर काम गर्नेछौं ।'
विदुरलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुहुँदै उहँले रोजगारी सिर्जना गर्दै शिक्षा, स्वास्थ्य क्षेत्रमा राज्यका तर्फबाट गर्नुपर्ने कामहरुलाई प्रभावकारी ढंगले गर्ने पनि आश्वासन दिनुभयो । घरदैलो गर्दैगर्दा गठबन्धन दलले जित्ने विश्वास जागेको जानकारी गराउनुहुँदै उहाँले जनता पनि माग र आवश्यकता सम्बोधन हुनेछन् भन्ने आशामा देखिनुले उत्साह थपिरहेको बताउनुभयो ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । प्रमुखमा कांग्रेसका राजनलाल श्रेष्ठ र उपप्रमुखमा माओवादी केन्द्रकी प्रभा बोगटी चुनावी मैदानमा हुनुहुन्छ ।