२१ वर्षीया सरस्वती थापा खड्का नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएको छ । राजनीतिमा नयाँ पुस्ताको सहभागिताको बहस चलिरहेको बेला खड्काले उम्मेदवारी दिनुहुँदा एउटा संयोग बनेको छ । खड्काजस्तै कम उमेरका उम्मेदवारहरु देशभर नै निकै कम छन् । यही वैशाख ३० गते हुने लागेको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षका उम्मेदवार खड्काले कस्ता विषयवस्तुलाई प्राथमिकता दिनुभएको छ, गाउँपालिका विकासका विषयवस्तुहरु के के छन् ? जस्ता विषयमा उहाँसँग गरिएको कुराकानी :
दुप्चेश्वर गाउँपालिकाको उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
दुप्चेश्वर गाउँपालिका भनेको नेपालमा सबैभन्दा धेरै मानव बेचविखनबाट प्रभावित भएको ठाउँ हो । मेरो सर्वप्रथम सम्पूर्ण वडा वा टोल बस्तीहरुमा महिला तथा युवा जगतमा जनचेतनाको विकास गर्ने र न्याय व्याप्त रहेको मानव बेचविखन तथा रोजगारीको समस्यालाई निर्मूल पार्ने प्रमुख भूमिका रहने छ । साथै विकट टोलवस्तीमा युवा परिचालन गरी ग्रामिण भेगका जनसमुदायको चेतनामूलक कार्यक्रमलाई पहिलो प्राथमकिता दिँदै युवाहरुलाई स्वरोजगार बनाउने पहिलो भूमिका रहने छ ।
भर्खर २१ वर्षको हुनुभएको छ पुरै गाउँपालिकाको नेतृत्व गर्न सक्नुहुन्छ ?
देश र जनताको सेवामा लाग्नको लागि उमेरको हदबन्दी लाग्दैन भन्ने विषयको जगजाहेर गर्न मेरो उम्मेदवारी हो । नेतृत्व विचार र योजनाले गर्ने हो भन्ने विषयलाई स्पष्ट पार्दै जानेछु ।
उपाध्यक्षले अर्धन्यायिक काम सम्पादन गर्नुपर्छ त्यो सक्नुहुन्छ ?
त्यो भनेको सामान्य कुरा हो । सर्वप्रथम त राजनीति सँगसँगै हामीले अध्ययनमा पनि ध्यान दिने गरियो भने कुनै समस्या पर्दैन । त्यसमाथि पनि म विद्यार्थी नै भएको नाताले अझै सहज हुनेमा विश्वस्त छु ।
गाउँहरूमा अहिले पनि असमानता र विभेद व्याप्त छ त्यो कम गर्न के गर्नुहुन्छ ?
सर्वप्रथम हाम्रो पार्टीको मूल नारा नै 'असमानता, समाजमा रहेको विकृति र विसंगतिलाई हटाउने' भन्ने रहेकोले पार्टीको घोषणापत्र र नीति, नियमभित्र रही समाजमा रहेको असमानता र विभेद हटाउन उचित खालको भूमिका खेल्ने छु ।
चुनाव जित्नुभयो भने गर्ने कामबारे तपाईंको पार्टीको स्थानीय एजेन्डा के छन् ?
मूलत: हाम्रो गाउँपालिका केन्द्र र जिल्लाबाट र भौगोलिक हिसाबले धेरै विकट भएको कारण विकासका कामहरु नगन्य मात्रामा भएका छन् । सर्वप्रथम मेरो काम भनेको यस गाउँपालिकाभित्र रहेका स्रोत साधनलाई उपयोग गर्दै उर्जाशील युवाहरुको संलग्नतामा विकासका पूर्वाधार तयार गर्ने भन्ने नै प्रमुख उद्देश्य रहेको छ ।
दोस्रो पशुपतिको उपमा पाएको चर्चित धार्मिकस्थल दुप्चेश्वर मन्दिर तपाईंहरूकै पालिकामा रहेको छ यसको सम्वर्द्धनका लागि के गर्ने सोच बनाउनु भएको छ ?
यस गाउँपालिकामा रहेको दुप्चेश्वर मन्दिर तथा साथमा रहेको संरचनाको लागि विभिन्न खालका संरचना विकास गर्दै यस भेगलाई पर्यटन विकासको बढी ध्यान दिने भन्नेमा छौं । विशेषगरी उक्त क्षेत्रको पहिचान हरेक कुना—कुनासम्म पुर्याउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने जसले गर्दा यस भेगका मानिसहरुमा थप रोगजारीको समेत सिर्जता हुने र आर्थिक हिसाबले सबल र सक्षम बनाउने मेरो लक्ष्य छ । माथि मैले भने जस्तै हुन आउने भक्तजन तथा पर्यटकहरुलाई खाना, बस्ने र सुरक्षित पार्किङको समेत प्रबन्ध मिलाउन विशेष पहलकदमी रहने छ ।
राजनीति बेरोजगार युवाहरूको भीड जम्मा गर्ने पेसा जस्तो बनेको छ युवाको उचित व्यवस्थापनका लागि के गर्न सकिन्छ होला ?
राजनीति पनि एक खालको परिर्वतनको भाषा हो । तर अनावश्यक र अनर्गल कामको लागि युवाजगत अलमल्याउने परिपाटी चल्दै आएकाले सो कार्यको पूर्णरुपमा विस्थापित गर्दै अर्थपूर्ण तरिकाबाट मात्र युवाहरुलाई राजनीतिमा समाहित गर्नुपर्छ भन्ने नै हो ।
के कारणले राजनीतिमा आउनुभयो ?
सबैभन्दा पहिलो कुरो त देशमा हालको अवस्थामा उच्छृंखल र विशेषगरी अपरिपक्व राजनीतिक परिपाटीले युवा जगतलाई धरापमा पारेको मेरो ठम्याई हो । खासगरी उर्जासिल नवजवान युवा युवतीहरुको समयसांपेक्ष देशको अवस्थाअनुसार मात्रा राजनीतिमा सहभागी गराउन मेरो विशेष भूमिका रहने छ । युवाहरुलाई उचित व्यवस्थापन गर्न स्थानीयस्तरबाट उद्योगधन्दा, आधुनिक कृषि कार्यक्रममा सहभागी बनाउन र आफ्नै माटोमा युवा जमात अड्याउन आवश्यक कार्यक्रम सिर्जना गर्ने मेरो लक्ष्य छ ।
राजनीतिक दल त अरू पनि धेरै छन् तर एमालेमै किन लाग्नु भो ?
विद्यार्थी जीवनदेखि नै राजनीतिमा चासो राख्ने स्वभाव भएकाले हालको अवस्था पनि त्यसैको उपज हो । अब कुरा पार्टीको, म विद्यार्थी जीवनदेखि नै विद्रोही स्वभावको मान्छे हुँ । समाजमा रहेको अन्धविश्वास छुवाछूत, जातभात, सानोठूलो भन्ने कुराको सानै उमेरदेखि विरुद्धमा लागेको र हाल हाम्रो पार्टी नेकपा एमालेसँग यस्ता खाले कुरा मेल खान आएकाले म नेकपा एमालेमा लागेको हुँ ।
नुवाकोट धेरै नेता भएका कारणले विकसित हुन सकेन भन्ने आवाज तीव्र सुनिन्छ तपाईंलाई के लाग्छ ? दोष नेताहरूको हो कि उनीहरूले लिएको नीतिको ?
हो बल्ल तपाईंको प्रश्न ठेगानमा पर्यो । मैले माथि उल्लेख गरेका सबै कुरा हजुरले गर्नुभएको प्रश्नमा नै भर परेको छ । नुवाकोटमा विगत ०४६ सालपछि नेताहरुको गद्दारीपना र आफ्ना भरौटे आसेपासेहरुलाई योजना र विकासको नाममा पेट भराउने कामहरु भए । नुवाकोटमा क्रमागतरुपमा हुनेभन्दा बाहेकका केही विकासका कार्यहरु अगाडि बढ्न सकेनन् । फलस्वरुप यस्ता क्रियाकलापको विरुद्धमा हामी जस्ता युवाहरुको अर्थपूर्ण सहभागिता यो जिल्ला र विशेषगरी दुप्चेश्वर गाउँपालिकाको मुहार फेर्न स्वतस्फूर्त रुपमा राजनीतिमा अवतरण गर्नुपरेको छ ।