नुवाकोट असार २४ । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले स्वेच्छाचारी प्रवृत्ति जारी राखेको भन्दै नेकपा (माओवादी केन्द्र) शिवपुरी गाउँ संगठन कमिटी 'एक्सन'मा उत्रिने भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा जस्तै नयाँ आव ०७८/०७९ मा पनि माओवादी केन्द्र र नेकपा (एमाले) को सुझावलाई बेवास्ता गर्दै चुनाव लक्षित र कार्यकर्ता पोस्ने बजेट ल्याएर एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको भन्दै त्यसविरुद्ध प्रतिवादमा उत्रन लागिएको हो । माओवादी केन्द्र शिवपुरीका अध्यक्ष वीरबहादुर तामाङले पार्टीको तर्फबाट विगतमा जस्तै मनोमानी नगर्न गाउँपालिका अध्यक्ष थापालाई असार ७ गते लिखित सुझाव र ध्यानाकर्षण गराए पनि त्यसलाई बेवास्ता गरिएकोले केही दिनमै गाउँपालिकामा जाने तयारीमा रहेको जानकारी दिए ।
'हामीले असार ७ गते ध्यानाकर्षण र सुझाव बुझाएका थियौं । नीति तथा कार्यक्रम र बजेटपछि भेट्ने कुरा गर्नु भएको थियो । दुई हप्ता बित्दा पनि हामीले मागेको विषयमा केही जवाफ दिनु भएको छैन । अब हामी जवाफ माग्न जान्छौं ।' नयाँ बजेटमा पनि आफूहरुले वडामा १ करोडको दरमा बजेट विनियोजन गर्न माग गरिए पनि ३० लाख विनियोजन गरेर अध्यक्ष थापाले बहुमतको दम्भमा निरंकुश, तानाशाही तबरले बजेट बाँटफाँट गरेको आरोप लगाए । उनले अहिलेको बजेट विकास र समृद्धिकोलाई भन्दा पनि केन्द्रिकृत मानसिकताबाट चुनाव लक्षित र कार्यकर्ता पोस्ने खालको भएको उनको प्रारम्भिक टिप्पणी थियो ।
शिवपुरी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट निर्वाचित उम्मेदवार छन् । गाउँपालिका अध्यक्ष थापाको कार्यशैलीप्रति विपक्षी नेकपा (एमाले) समेत रुष्ट छन् । माओवादी केन्द्रसँग र नेकपा (एमाले) शिवपुरी संगठन कमिटीको संयुक्त बैठक बसेर ध्यानाकर्षण र सुझाव पत्र पेस गरिएको थियो ।
माओवादी केन्द्र शिवपुरीले अध्यक्ष थापाले सिलसिलेवार रुपमा गरेका नियम र विधिविधान विपरीतका कार्यहरु खुट्याउँदै यथार्थ जानकारी माग गरेको छ । असार ७ मा बुझाएको पत्र अनुसार गाउँपालिका अध्यक्ष थापालेनियमविपरीत घरमा काम गर्न र भान्से राखेको, शिक्षकलाई काजमा खटाएको, सरुवा, नियम उल्लंघन गरी विद्यालयका विभिन्न तहमा बिना प्रतिस्पर्धा नाम मात्रको परीक्षा लिई शिक्षक भर्ती गरेको लगायत त्रुटि औंल्याइएको छ ।
त्यस्तै आव २०७६/७७ को ५२ करोड बजेटमध्ये वडालाई ३० लाखको दरले वितरण गरेर बाँकी रकम रिजर्भमा राखी अध्यक्षले मनोमानो खर्च गराइएको, वडाध्यक्षहरुलाई नियमविपरीत ७० हजारदेखिर १ लाख ६० हजारसम्म बाँडेको, कर्मचारी भर्ना गर्दा अनुभवहीनलाई स्थान दिइएको लगायत विषयको जवाफ पालिका अध्यक्ष थापा समक्ष मागिएको छ ।