नुवाकोट । नेकपा माओवादी केन्द्रका युवा नेता एवं पञ्चकन्या गाउँपालिकाका अध्यक्षका प्रत्याशी तेजबहादुर तामाङले आफ्नो पार्टीको जनलहर देखेर विपक्षीको सातो गएको बताउनुभएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घरदैलोका क्रममा शनिबार गाउँपालिकाको ४ नम्बर वडा आरुखर्कमा सम्बोधन गर्नुहुँदै अध्यक्षका प्रत्याशी तामाङले उक्त धारणा राख्नुभएको हो । नीति, योजना, कार्यक्रम हाम्रो पार्टीको भएकोले माओवादीबाहेकको पञ्चकन्यामा जित सम्भव छैन,निवर्तमान गाउँपालिकाका अध्यक्ष तामाङले भन्नुभयो, विपक्षीको सात्तो गइसकेको छ । साथीहरुको अभियान देख्छु, कहिलेकाहीं गाडी लाइनका लाइन छन् । तर खाली(खाली कुदेका छन् । हाम्रो गाडी छैन । मान्छेका लाइनका लाइन छन् । त्यसले पनि साथीहरुको सातो गइसकेको छ ।
२०७४ सालको पहिलो स्थानीय तह चुनावमा समेत जितेको अवस्थामा माओवादी केन्द्र अहिले कविलासबाहेकका ठाउँमा सुदृढ रहेकोले पनि आफ्नो जित सुनिश्चित रहेको उहाँले दाबी गर्नुभयो । 'कविलासमा त्यहींका उम्मेदवार भएर अलि बढी मत अरुको आउन सक्छ', कांग्रेसतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, तर १, ३, ४ टिमै माओवादीले जितेको ठाउँ । ५ नम्बरमा पनि माओवादी धेरै मजबुत छ । आम जनता हाम्रो पक्षमा, पार्टीको पक्षमा उभिनुभएकोले अरुले जित्ने सम्भवना छैन । ढुक्क रहनुहोला, हामी जसरी नि चुनाव जित्छौं ।
उहाँले सचेत गराउँदै भन्नुभयो, 'ढुक्क रहनु भनेको घरमै रहनु भनेको होइन । मतदानको दिन जसरी केन्द्रमा गएर मत हाल्नु होला ।' विपक्षीहरुले माओवादी नेता, कार्यकर्ता भड्काउन खोजिरहेको समेत उहाँले आरोप लगाउनुभयो । 'उनीहरु यो वा त्यो बाहानामा हामीलाई भड्काउन खोजिरहेको छ । हामीलाई उचाल्न खोजिरारखेको छ । हाम्रा कार्यकर्ताले केही भन्दिएहुन्थ्यो । केही गरिदिएहुन्थ्यो । त्यसलाई मसला बनाएर हामीमाथि हिलो छ्याप्न पाएहुन्थ्यो भनेर विपक्षीहरु लागिराखेका छन्', उहाँले निर्देशनात्मक शैलीमा भन्नुभयो, युवा साथीहरुलाई भन्न चाहन्छु जनताका घरदैलोमा पुग्ने क्रममा अत्यन्त संयमता अपनाएर आफ्नो विचार राख्ने, मत हाल्न सिकाउने गर्नुहोला । '
आफूहरु अरुलाई हराउने पक्षमा नरहेको उल्लेख गर्नुहुँदै अध्यक्षका प्रत्याशी तामाङले आफू चुनाव जित्नेमात्रै उद्देश्य रहेको बताउनुभयो । 'अरु हार्ने हारोस्, नहार्ने नहारोस् । हामीलाई केही मतलब छैन । हाम्रो योजना आफूले चुनाव जित्ने, पार्टीले जित्ने हो, ' उहाँको भनाइ थियो, अरु कराउँछन् । हल्ला गर्छन् । हाम्रो पार्टीलाई गाली गर्छन् । हामी त ३० गतेसम्म सुन्ने । गोलाकारभित्रको हसियाँ हथौडामा मेलैसित छाप हान्ने हो अनि जेठ ३र४ मा फाइनल रिजल्ट आउँछ हामीले जितिहाल्छौं । अनि विजयोत्सव मनाउने हो ।'