एजेन्सी । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आज सोमवार राजीनामा दिनुभएको छ ।
यो कदमले सङ्कटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्का लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ । राष्ट्रपति गोटबाया राजापाक्षेले गएको शुक्रवारको विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कटको समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि यस्तो निर्णय भएको हो । श्रीलङ्काको डेली मिररले जनाएअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसदमा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा गरिएको छ ।
यसअघि विपक्षी दल समगी जन बालवेगयाले आफ्ना नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए । श्रीलङ्का अहिले विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ ।
सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ । यसैबीच राजधानी कोलम्बोमा प्रदर्शनकारीबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि आज प्रहरीले कर्फ्यु लगाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९, १७:३४:००