एजेन्सी । श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त हुनुभएको छ ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । विक्रमासिङ्घे श्रीलङ्कामा सबैभन्दा धेरै पाँच पटक प्रधानमन्त्री बन्नुभएको हो । उहाँले शपथ लिइसक्नुभएको छ । प्रधानमन्त्री बन्न राष्ट्रपतिले विपक्षी नेताहरूलाई आग्रह गरे पनि नेताहरूले अस्वीकार गरेपछि विक्रमासिङ्घे प्रधानमन्त्री बन्नुभएको हो ।
गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा आन्दोलन चर्किएको छ । प्रधानमन्त्रीबाट राजीनामा दिनुभएका महिन्दा राजापाक्षेको घरमा आन्दोलनकारीले आगो लगाइदिएपछि उहाँ सेनाको शिविरमा बस्दै आउनुभएको छ । आजै अदालतले राजापाक्षेसहितका १६ जना व्यक्तिलाई देश छाडेर जान रोक लगाएको छ ।
यद्यपि उहाँको छोराले आफू र आफ्ना बुबाको देश छाड्ने मनसाय नभएको भन्दै कुनै पनि प्रकारको जाँचमा सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९, २०:४८:००