नुवाकोट । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद खनालले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार तेजबहादुर तामाङलाई झन्डै ४ सय मतान्तरले उछिनेको छ । कांग्रेसको प्रभाव मानिएको गाउँपालिका वडा नं २ को कविलासमा करिब ५० प्रतिशत मतगणना गर्दा खनालले आइतबार साढे १ बजेसम्ममा १ हजार ३०६ मत प्राप्त गर्दै अग्रता लिनुभएको हो ।
उहाँका कडा प्रतिस्पर्धी माओवादी केन्द्रका तामाङले ९१२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २ नम्बर वडामा २ हजार ८१० मत खसेको छ । जसमा १४ सय १८ मतगणना हुँदा खनाल ७८५ र तामाङले ३८९ मत पाउनुभएको छ ।
वडा नम्बर १ मा १ हजार ३७७ मतमा तामाङले ५२३ र खनालले ५२१ मत प्राप्त गर्नुभएको थियो । एमालेबाट अध्यक्षका उम्मेदवार यमबहादुर थापाले १७२ मत पाउनुभएको छ ।
पञ्चकन्यामा ३, ४ र ५ वडाको मतगणना बाँकी छ । जसमध्ये ५ नम्बर वडामा माओवादी र कांग्रेसको मत हाराहारीमा हुने आंकलन गरिएको छ । गत निर्वाचनको परिणामले ५ मा कांग्रेस अगाडि हुने भए पनि यसपटक प्रभावशाली नेता यमबहादुर थापाले पार्टी परित्याग गर्नुभएको र एमालेतर्फबाट स्वयं अध्यक्षको चुनावी प्रतिस्पर्धामा रहनुभएकाले कांग्रेसको भोट घट्ने माओवादी समर्थकको बुझाइ देखिन्छ ।
कविलासमा कांग्रेसले अग्रता लिए पनि तामाङको गृह वडा ३ र माओवादीको गढ नै मानिएको ४ नम्बर वडा थप्रेकको मतले पूर्ति हुने भएकोले माओवादी उम्मेदवार जित्नेमा ढुक्क देखिन्छन् । गत निर्वाचनमा पनि ३ र ४ वडाध्यक्ष माओवादीकै उम्मेदवार निर्वाचित भएका थिए । ५ मा कांग्रेस र २ मा नेकपा (एमाले)ले जितेको थियो । ३ र ४ को मतको आधारमा गत निर्वाचनभन्दा बढी भोटले परिणाम आफ्नो पक्षमा आउने माओवादी केन्द्रको आंकलन छ । कांग्रेसले समर्थक भने २ र ५ नम्बरको लिड भोटले यसपटक आफ्ना उम्मेदवार जित्ने हिसाबकिताबमा देखिन्छन् ।
स्थानीय निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते भएको मतदानमा ३ नं. वडामा १ हजार ७७७, ४ मा २ हजार ४७४ र ५ मा २ हजार ९४ मत खसेको छ ।
अहिलेको निर्वाचनमा कांग्रेसबाट खनाल, माओवादीबाट तामाङ र एमालेबाट थापा अध्यक्षका उम्मेदवार बन्नुभएको छ । मतगणना गाउँपालिकाको कार्यालय घलेभञ्ज्याङमा जारी छ ।