नुवाकोट । पूर्वमन्त्रीत्रय हितबहादुर तामाङ, रामशरण महत र प्रकाशशरण महतको गृहपालिका नुवाकोट पञ्चकन्याको चुनावी परिणामलाई लिएर सर्वत्र चासो छ । ५ वटा वडा रहेको पञ्चकन्यामा १, २ र ३ नम्बर वडाको मतगणना करिब सम्पन्न भएको छ ।
ताजा परिणाममा अध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद खनालले अग्रता लिइरहनुभएको छ । उहाँले २ हजार ५३७ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई पछ्याउँदै नेकपा (माओवादी केन्द्र) का तेजबहादुर तामाङले २ हजार ७२ मत प्राप्त गर्नुभएको छ । ३ नम्बर वडाको अब २०२ मतमात्रै गणना बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । ३ नम्बरमा माओवादी केन्द्रका रामबाबु पराजुली पुन: प्यानलै जित्ने छाँट देखिएको छ ।
१ र २ मा भने कांग्रेस उम्मेदवार जितिसकेका छन् । १ मा महानन्द ढकाल र २ मा रामशरण श्रेष्ठ निर्वाचित हुनुभएको हो । अब माओवादीको प्रभाव वडा ४ र कांग्रेस प्रभाव मानिएको ५ नम्बर वडाको मात्रै मतगणना बाँकी छ । ४ नम्बर वडामा २ हजार ४७४ र ५ नम्बरमा २ हजार ९४ मत खसेको छ । गत २०७४ को निर्वाचनमा ४ मा माओवादी र ५ मा कांग्रेस उम्मेदवारले जित हासिल गरेका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९, १३:२७:००