सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाभित्रका ३५ वटा विद्यालयमा तामाङ मातृभाषा शिक्षा लागू गरिने भएको छ । मातृभाषा शिक्षा लागू गर्नका लागि नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा मरिण गाउँपालिका र भाषा आयोग काठमाडौंको सहकार्यमा एक साताको भाषा शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ३५ भन्दा बढी सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
ग्लोबल मिडियासँगको कुराकानीमा अध्यक्ष विमर्श मुक्तानले भन्नुभयो, ‘हामीले मातृभाषाको शिक्षालाई गाउँपालिकामा कार्यान्वयनमा लैजाने विषयलाई अघि सारेका छौं, अहिले तामाङ विद्यार्थीको बाहुल्यता भएको विद्यालयमा यो कार्यक्रम लैजाने तयारीमा छौं, तामाङ पछि मगर र माझी समुदायको विद्यार्थीको बाहुल्यता भएको हुँदा, ती समुदायका भाषामा पनि अध्ययन गरिने विषयलाई अघि सार्नेछौं ।’ उहाँले सरकारको तर्फबाट गर्नुपर्ने सहयोगमा कन्जुस्याइँ नगर्ने पनि बताउनुभएको थियो ।
मरिण गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज बरालले मातृभाषा शिक्षा कार्यक्रम अझ प्रभावकारी बनाउन आगामी वर्षमा पनि निरन्तरता दिनु पर्ने र असार १५ भित्र सबै स्कुलमा मातृ भाषाको किताब पुर्याउन पहल गर्ने सुझाव राख्नुभएको थियो । नेपाल तामाङ घेदुङका महासचिव काजीमान थिङले सम्पूर्ण शिक्षकहरुलाई इमान्दारीका साथ पठनपाठनमा लागीपर्न आग्रह गर्नुभएको थियो । सहभागी शिक्षक मानध्वज बोम्जनले ५ दिनको बसाई महत्त्वपूर्ण रहेको र व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रशिक्षण कार्यक्रमका प्रशिक्षक प्रतीक ङेसुर तामाङले नेपाल सरकारको कानुनमा उल्लेख भएकोले मातृभाषा शिक्षामा सरोकारवालाको अग्रभूमिका रहनुपर्ने र कसैलाई पनि छुटाउन नहुने बताउनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९, २१:२९:००