काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाले पालिकाभित्र रहेका सुकुम्बासीलाई लालपूर्जा वितरणका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेको छ । नगर प्रमुख जगतबहादुर गुरुङ (तामाङ), प्रमुख प्रशासकीय अधिकृत दिपक खतिवडा र आयोगका केन्द्रीय सदस्यद्वय दाताराम खनाल, सरिता महर्जनबीच विशेष छलफलपछि आइतबार आयोगकै कार्यालय काठमाडौं ताहचलमा सम्झौता भएको हो ।
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत खतिवडाले सुकुम्बासी र अव्यवस्थित रुपमा बसोबासलाई मध्यनगर गर्दै नगरको समस्या समाधानका लागि आयोगलाई आग्रह गरेको बेलकोटगढी नगरपालिकाका प्रमुख गुरुङको सचिवालयले जनाएको छ । आयोगका सदस्यहरु बेलकोटगढी नगरपालिकाको भूमिसम्बन्धी समस्या समाधानका लागि सक्रियरुपमा लाग्ने प्रतिबद्धता जनाएको गुरुङका सचिवालयका अनमेष श्रेष्ठले जानकारी दिनुभयो ।
बेलकोटगढी नगरमा २५ सयदेखि ३ हजार सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरु रहेको अनुमान छ । नगरपालिका र आयोगसँगको सम्झौता भएकोले अब छिट्टै नै वास्तविक तथ्यांक संकलन सुरु गरिने नगरपालिकाले जनाएको छ । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट बेलकोटगढीमा तामाङ मेयरमा निर्वाचित हुनुभएको हो ।
उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकताका साथ काम गर्ने निर्णयसँगै आफ्नो कार्यकाललाई अगाडि बढाउनुभएको छ । बेलकोटगढी नगरपालिकाले स्थानीय जनतालाई स्वास्थ्य सेवा पहुँचको लागि भन्दै पहिलो नगर कार्यपालिका बैठकबाट तत्काल ७ वटा एम्बुलेन्स किन्न निर्णय गरेको थियो ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९, २२:३२:००