नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले किसानलाई ट्र्याक्टर वितरण गरेको छ ।
नगरपालिकामा सोमबार आयोजित कार्यक्रममा मेयर जगतबहादुर गुरुङ (तामाङ) लगायतबाट कृषक समूह, कृषि सहकारी, कृषि फार्महरुलाई १ सय ७० वटा ट्र्याक्टर वितरण गरिएको हो । कार्यक्रममा नगरपालिकाका उपमेयर शिव दाहाल, प्रमुख प्रशासकीय अधिकृत दिपक खतिवडा, कृषि शाखा प्रमुख दामोदर दाहाल, नगरपालिकाका कर्मचारी र कृषकहरुको सहभागीता थियो ।
१५ हजार ७ सय ५० र १६ हजार ६ सय ६६ रुपैयाँ पर्ने दुई प्रकारका ट्र्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर गुरुङले बेलकोटगढी नगरपालिकामा आफूहरु निर्वाचित भएपछि किसानका लागि पहिलो काम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आउने दिनमा कृषक लक्षित कार्यक्रमलाई अघि बढाउने पनि बताउनुभयो ।
खेतीपातीको मौसममा नगरवासीलाई रासायनिक मल अभावले पिरोलिरहेको उल्लेख गर्नुहुँदै मेयर गुरुङले अबको केही दिनमा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १५ सय बोरा मल ल्याउने प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो ।



प्रकाशित मिति: सोमबार, असार ६, २०७९, २१:०१:००