काठमाडौँ । अफगानिस्तानमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ५० जनाको मृत्यु भएको छ । मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ५० जनाको मृत्यु भएको र सयौंको संख्यामा मानिसहरू घाइते भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
अफगानिस्तानको दक्षिण पूर्वी शहर खोस्टभन्दा ४४ किलोमिटरको दूरीमा रहेको स्थानलाई केन्द्र बनाएर ६.१ म्याग्निच्युड स्केलको भूकम्प गएको बीबीसीले लेखेको छ ।
भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र छिमेकी देश पाकिस्तानमा समेत महसुस गरिएको युरोपियन मेडिटेरिनियन सिस्मोलोजिकल सेन्टरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था बताएको छ ।
भूकम्पबाट सबैभन्दा धेरै क्षति अफगानिस्तानको पक्तिका प्रान्तमा भएको छ । दुर्भाग्यवश गएराति गएको भूकम्पमा परी पक्तिका प्रान्तका चार जिल्लाका सयौं मानिसहरू घाइते भएका छन् भने दर्जनौं घरहरू ढलेका छन् ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९, १२:५७:००