नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड ६६ लाखभन्दा बढीको बजेट ल्याएको छ । शुक्रबार १२ औं गाउँसभा तथा बजेट सार्वजनिक समारोहमा आर्थिक वर्ष २०७९/०८० का लागि गाउँपालिका उपाध्यक्ष विमला केसीले ४५ करोड ६६ लाख ६९ हजार ७३८ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमध्ये चालुतर्फ २६ करोड ५० लाख ८६ हजार ७३८ अर्थात् ५८ प्रतिशत र पुँजीगततर्फ १९ करोड १० लाख ८३ हजार अर्थात् ४२ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षका लागि ४२ करोड ६८ लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । बजेटमा पुँजीगत भन्दा चालु खर्च बढी देखिएको छ ।
पूर्वाधार विकास, कृषि, शिक्षा, सामाजिक सुरक्षाअन्तर्गत ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई उपचार खर्च, महिला स्वयंसेवकलाई प्रोत्साहन भत्ता लगायतका जनप्रिय कार्यक्रम पनि ल्याइएको उपाध्यक्ष केसीले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले चलाउनुभएको कार्यक्रममा वडाध्यक्षहरु, सभासद, कर्मचारी, स्थानीयको समेत सहभागी थियो ।
गाउँपालिकाको नीति कार्यक्रम भने बिहीबार संघीय सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा अध्यक्ष तेजबहादुर तामाङले प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकास्तरीय विभिन्न राजनीतिक दलका प्रमुखको समेत उपस्थितिमा पेस गरिएको नीति, कार्यक्रम सर्वसम्मत पारित भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९, २२:३६:००