काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद मिन बहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओली ‘रेड कार्ड’ खाएर बालुवाटारबाट बालकोट गएको टिप्पणी गर्नुभएको छ । ओलीले सुरुदेखि नै संविधानको घोडा चढी सरकार सञ्चालन गरेको उहाँको टिप्पणी थियो ।
काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफूहरुले मुलुक र व्यवस्था बचाउनको लागि रिट दर्ता गरेको र सर्वोच्च अदालतले सोहीअनुसार फैसला गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘केपी ओली त रेड कार्ड खाएर बालकोट जानुभयो, अब म्याच खेल्न पाउनुहुन्न ।’
उहाँले ५ दलको गठबन्धन कायमै रहने पनि विश्वास दिलाउनुभयो । उहाँले माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विश्वास दिलाएको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो,‘उहाँले यो संसदको पूर्ण आयु कायम गर्नुपर्छ भन्नुभएको छ । यो सरकार १६ महिना नै चल्छ ।’ उहाँले प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्ने पनि दाबी गर्नुभयो ।
उहाँले प्रधानमन्त्री देउवासँग समन्वयकारी भूमिका खेल्ने स्वभाव भएकोले अहिले पनि सबैलाई मिलाएर लैजाने बताउनुभयो । उहाँले भन्नुभयो,‘मुलुकलाई सबै मिलेर अघि बढाउनुपर्छ । उहाँले राष्ट्रिय सहमतिको वातावरण बनाउनुहुन्छ । मलाई विश्वास छ, उहाँले त्यहीअनुसार आफ्नो भूमिका निर्वाह गरिरहनुभएको छ ।’ उहाँले विश्वासको मत भने अधिकतम पाउने जिकिर गर्नुभयो । यसअघिको सरकारले गरेका राम्रा र असल कामलाई भने यो सरकारले निरन्तरता दिने र असंवैधानिक कामलाई भने खारेज गर्ने पनि उहाँको भनाई छ ।
ओलीले कानूनविपरित सरकार चलाएको उहाँको आरोप थियो । तर, वर्तमान सरकारले कानूनबमोजिम देश चलाउने उहाँको विश्वास छ । एक हप्ताभित्रै मन्त्रीपरिषद् विस्तार गरिने पनि उहाँले जानकारी दिनुभयो ।