काठमाडौं । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएसँगै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बन्न र बनाउनका लागि दौड तीव्र बनेको छ । सर्वोच्च अदालतको असार २८ को फैसलापछि प्रधानमन्त्रीमा देउवा नियुक्त भएसँगै उनको मन्त्रिपरिषद्मा जान दुवै पार्टीका आकांक्षी र समर्थकहरु दौडधूपमा लागेका हुन् ।
पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार तत्कालीन केपी ओली सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई बदर गरिदिएको थियो । सर्वोच्चको उक्त आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ भने निवेदकको मागबमोजिम कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको थियो । अदालतको परमादेशपछि असार १९ मा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन कांग्रेस र माओवादीबाट दुई/दुई जना लिएर पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । प्रधानमन्त्री देउवा अब गठबन्धन दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारीमा रहनुभएको छ ।
प्रधानमन्त्रीको तयारीसँगै सत्तारुढ कांग्रेस र माओवादीभित्र तीव्र लबिङ सुरु भएको हो । देशैभरीबाट मन्त्रीका लागि पार्टीभित्रका 'शक्ति केन्द्र'हरु धाउने क्रम चलिरहँदा संघीय राजधानीसमेत रहेको वाग्मती प्रदेशमा पनि दौडधूप बढेको छ । स्रोतका अनुसार वाग्मती प्रदेशबाट कांग्रेसका युवानेता तथा पूर्वमन्त्री गगन थापाको नाम मन्त्रीका लागि पहिलो स्थान रहेको छ । काठमाडौं–४ बाट प्रतिनिधिसभामा निर्वाचित थापा स्वास्थ्यमन्त्री भइसक्नु भएको व्यक्ति हुनुहुन्छ । अहिले पनि सोही मन्त्रालयमा उहाँलाई पठाउने तयारी रहेको कांग्रेस निकट स्रोत बताउँछ । काठमाडौं–१ बाट निर्वाचित प्रकाशमान सिंह आगामी कांग्रेस महाधिवेशनमा पार्टी सभापतिका लागि दाबेदार रहेकोले सरकारमा जाने संभावना कम रहेकाले उपत्यकाबाट थापा नै मुख्य सम्भावित पात्र रहेको कांग्रेस स्रोत बताउँछ । उपत्यका बाहिरबाट रसुवाका मोहन आचार्य, नुवाकोटबाट बहादुरसिं लामा र दोलखाका जिपछिरिङ शेर्पाको चर्चा चलिरहेको छ । आचार्य प्रत्यक्ष निर्वाचित हुनुहुन्छ भने लामा र शेर्पा समानुपातिक सांसद ।
प्रमुख सत्ता साझेदार माओवादी केन्द्रमा पनि मन्त्री बन्न र बनाउन नेताहरुले सक्रियता बढाएका छन् । वाग्मती प्रदेशबाट मन्त्रीका लागि नुवाकोटका हितबहादुर तामाङ मुख्य दाबेदार देखिनु भएको छ । उहाँ कांग्रेसका चल्तापुर्ता नेता रामशरण महतलाई पराजित गरी प्रतिनिधिसभामा विजयी हुनुभएको थियो । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको 'जनयुद्ध' को बेला भारतको पटनामा गिरफ्तार भई माओवादी नेता मोहन वैद्य ‘किरण’ सँगै लामो समय जेलजीवन बिताउनु भएका तामाङ माओवादी पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश कमिटीका सहइन्चार्जसमेत हुनुहुन्छ । उहाँलाई मन्त्रीमा सिफारिस गर्नका लागि काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङका नेताहरुले खुमलटारमा पुगेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरिरहेका छन् । पार्टीभित्र सरल, इमान्दार र कुशल संगठकका रुपमा चिनिनु भएका तामाङसँग यसअघि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको छोटो अनुभव छ । तामाङलाई मन्त्री बनाउनका लागि कार्यकर्ता पंक्तिले सामाजिक सञ्जालबाट समेत नेतृत्वमाथि दबाब बढाइरहेका छन् ।
पूर्व कृषिमन्त्री सिन्धुली–२ बाट निर्वाचित स्थायी समिति सदस्य हरिबोल गजुरेल पनि मन्त्रीका दाबेदार देखिनुभएको छ । लामो अवधि मन्त्री बनेका गजुरेल यस अघी ओली नेतृत्वको सरकारमा सहभागि नभएकाले बलियो दाबेदारको रुपमा रहनुभएको छ । यसैगरी रामेछापका श्यामकुमार श्रेष्ठ पनि मन्त्री बन्ने दौडमा रहनुभएको बुझिएको छ । उहाँ यो भन्दा पहिला राज्यमन्त्री भइसक्नु भएको छ ।
उपत्यकामा भने माओवादीका प्रत्यक्ष निर्वाचित सांसद छैनन् तर महिला र दलित दुवैको प्रतिनिधित्व हुने हुँदा समानुपातिक सांसद अन्जना विशंखेको मन्त्री बन्ने संभावना प्रबल देखिन्छ । शशि श्रेष्ठ पनि मन्त्रीका बलियो दाबेदार रहे तापनि उहाँ संघीय संसद्को राज्यव्यवस्था समितिको सभापति रहेकोले उहाँ मन्त्रीको लिस्टमा नपर्ने देखिएको छ । माओवादीबाट अर्का दाबेदार अमृता थापामगर हुनुहुन्छ । उहाँ माओवादी निकट महिला संगठनको अध्यक्ष हुनुहुन्छ । माओवादी केन्द्रमा मन्त्री चयन गर्ने जिम्मेवारी २९ गतेको स्थायी कमिटी बैठकले अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरिसकेको छ ।
एमालेको आन्तरिक विवाद चर्किरहेको अवस्थामा माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने/नहुने टुंगो छैन । यद्यपि पुन:स्थापित संसद्को स्थायित्वका लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेता नेपालको संकेत छ । एक सांसदमात्र रहेको जनमोर्चाले तत्काल सरकारमा सहभागी नहुने प्रस्ट पारिसकेको छ भने फुटको संघारमा उभिएका जसपाको बाबुराम–उपेन्द्र समूह पनि निष्कर्षमा पुगिसकेको छैन ।